‘शाही नेपाल वायुसेवा निगम’को विमान अपहरण : काङ्ग्रेसबाट भएको एक ‘आतङ्कवादी’ कार्य !

‘शाही नेपाल वायुसेवा निगम’को विमान अपहरण : काङ्ग्रेसबाट भएको एक ‘आतङ्कवादी’ कार्य !


इतिहास
  • सुनिल उलक

नेपालको वायुसेवाको इतिहासमा नेपाली विमानको अपहरणको एक मात्र घटना भेटिन्छ । यसर्थ नेपाली आकाश आतङ्कवादको दृष्टिकोणले सुरक्षित छ । २०५६ पौष ९ गते भारतीय वायुसेवाको विमान अपहरण भएको थियो । तर यो विमान काठमाडौबाट दिल्लीको उडानमा रहेको विमान भए पनि विदेशी आतङ्कवादीहरूबाट भारतीय आकाशमा प्रवेश गरेपछि मात्र अपहरण भएको थियो ।

२०३० जेठ २८ को बिहान ७ बजे शाही नेपाल वायुसेवा निगमको ट्वीन अटर विमान 9N–ABB काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट विराटनगरको लागि उड्यो । पाइलट क्याप्टेन आरके मानन्धर को-क्याप्टेन श्रीदेव बैद्य र सहायक जीवी राईको टोली विमानमा थिए । बिहानको सवा ८ बजे विराटनगर विमानस्थलमा जहाज ओर्लियो । केही समय विमानमा यात्रुहरू झर्ने र चढ्ने क्रम भयो । विमानमा १९ जना यात्रुहरू काठमाडौंका लागि चढेपछि तीन विमानका कर्मचारीसहित जहाज साढे ८ बजे काठमाडौंको लागि उड्यो । विमानका १९ यात्रुहरू मध्ये भारतीय चलचित्रकी नायिका माला सिन्हा पनि विमानमा काठमाडौ जाँदै थिइन् ।

२०२५ कार्तिक २४ गते सुवर्ण शम्शेरको पहलमा सुन्दरीजल जेलबाट मुक्त भएका बीपी तथा गणेशमान सिंहलाई पञ्चायतलाई सहयोग गर्ने शर्तमा रिहा गरिएको थियो । तर जेलबाट मुक्त भएपछि भारत प्रवासमा लागेका बीपीले पञ्चायतलाई सहयोग गर्न नसक्ने जिकिर गरे । साथमा पञ्चायतविरुद्ध आन्दोलन गर्ने मनसाय बनाए । तर बीपीले सोचे जस्तो भएन नेपाली काङ्ग्रेस आफ्नो पार्टीको विभिन्न कार्यक्रमको लागि आर्थिक अभावमा गुज्रिन थाल्यो । पञ्चायतविरुद्ध आन्दोलन गर्ने बीपीको निर्णयमा असहमत रहेका सुवर्णशमशेरले काङ्ग्रेसलाई आर्थिक सहयोग बन्द गरिदिँदा काङ्ग्रेस ठूलो आर्थिक सङ्कटमा पुगेको थियो । भारतीय पासपोर्टको सहयोगले सुटुक्क यूरोपमा आर्थिक सहयोग जुटाउन पुगेका बीपी रित्तो हात फर्किंदा अझ निराश भएको थिए । भारतले पूर्णरूपमा आर्थिक सहयोग गर्न नसक्ने जानकारी दिइसकेपछि बाध्य भएर डकैतीको बाटो अवलम्बन गर्न काङ्ग्रेसका शीर्षस्थ नेताहरू नै तैयार भए ।

जेलमुक्त भएपछि भारतमा प्रवासमा रहेका बीपीले फारवेसगञ्जमा पार्टी कार्यालय खोले पनि समय-समयमा मिटिङ गर्नुबाहेक ठूला योजना बनाउन काङ्ग्रेस असमर्थ भएको थियो । गिरिजाप्रसाद कोइराला पनि जेठको अन्तमा फारवेसगञ्ज पुगेका थिए भने अन्य सदस्यहरू पनि फारवेसगञ्जमा नै थिए । पञ्चायतविरुद्ध सङ्घर्ष गर्न पैसाको खाँचो थियो, तर पैसा कसरी ल्याउनेमा भने सोच्न सकेका थिएनन् । विमान अपहरण गरेर नेपाल सरकारसँग फिरौती लिन सकिने कुरामा पनि केही सल्लाह त हुन्थ्यो तर आँटिला कोही भेटिँदैनथे । विमान अपहरण गर्नु त्यति सहज पनि थिएन । यही बीच काठमाडौं जेलबाट भर्खरै छुटेका दुर्गा सुवेदी फारवेसगञ्ज पुगे । गिरिजाप्रसादसँगको भेटमा विमान अपहरण गरेर रकम जम्मा गर्न सकिने कुरा सुने । दुर्गा सुवेदीले जेलमा रिडर्स डाइजेस्ट पत्रिकामा जापानको भूमिगत रेड आर्मीका युवाहरूले विमान अपहरण गरेको घटना बारेमा पढेका थिए, तसर्थ उनी जोशिए ।

एक दिन दुर्गाको भेट मदन अर्यालसँग भयो । मदन नेपाल राष्ट्रबैंकको विराटनगर शाखामा कार्यरत थिए । उनिसँगको कुराकानीमा भारत अत्तरियाबाट नेपाल राष्ट्रबैंकले भारतीय रुपैयाँ खरिद गर्ने र सो रकम विराटनगरबाट विमानमा काठमाडौं लगिने जानकारी पाए । यसरी भारतबाट रुपैयाँ आउने भएपछि अत्तरियाबाट काठमाडौंबाट विराटनगर बीचमा लुट्न सकिने बारेमा पनि विमर्श गरे । यता गिरिजालाई दिइएको जानकारी बीपीसमक्ष पुग्यो । बीपीले ज्यानको जोखिम राखेर काम नगर्न सुझाए, तर खासै समस्या नहुने तर्कमा तैयारीतर्फ लागे । अत्तरियाबाट विराटनगरमा सुरक्षा फौजको उपस्थितिले सम्भव नदेखेपछि विराटनगरबाट काठमाडौं विमानमा लैजाँदा नै विमान अपहरण गरेर लुट्ने योजना बनाउन लागे ।

पार्टीबाट सहमति पाएपछि नागेन्द्र ढुङ्गेल, वसन्त भट्टराई र दुर्गा सुवेदीले मिलेर योजना बनाउन लागे । यता राष्ट्रबैंकका कर्मचारी रहेका मदन अर्याल विमानमा रकम लैजाने सूचना दिन तैयार भए भने उनका दाजु विनोदप्रसाद अर्याल जो भारत निर्वासनमा थिए, उनले लुटिएको रकम दार्जिलिङ वा सिक्किमसम्म सुरक्षित लगिदिन तैयार रहेको जानकारी दिए ।

यसरी सम्पूर्ण तैयारी भएपछि तीन जनाको समुह विराटनगरमा तैयार अवस्थामा बसे । रु. १७५ भाडा रहेको टिकट उनिहरू दुई पटकसम्म क्यान्सिल गर्न बाध्य भए । रकम लग्न तैयार भएको सूचनाको आधारमा टिकट काट्थे र रकम नआएपछि टिकट क्यान्सिल गर्थे । अन्तत: २०३० को जेठ २८ गते ३० लाख भारु विराटनगरबाट काठमाडौं लैजाने तैयारी बारेमा सूचना पाए । पक्का थिएन रकमको बाकस आउने हो कि होइन, तसर्थ रिक्सामा तीनजना विमानस्थलतर्फ लागे । नगेन्द्र र वसन्तलाई बर्गाछीको राइसमिलमा छोडेर दुर्गा एक्लै साढे ८ बजे विराटनगर विमानस्थल पुगे । विमानस्थलमा सैनिक सुरक्षाको साथ रकम विमानस्थल आइपुगेको देखेपछि दुवैलाइ बोलाए । विमानस्थलमा तीन जना दुर्गा सुवेदी, नगेन्द्र ढुड्गेल र वसन्त भट्टराइ पुगे तर दुर्भाग्यले दुई वटा मात्र टिकट पाए ।

यता नेपाल राष्ट्रबैंकका मेनेजर दिलिपजङ्ग थापा अचानक काठमाडौ पुग्नुपर्ने भएपछि सुरक्षाको लागि खटिएका जवानको टिकटमा नै काठमाडौं उड्न बाध्य भए । विमानमा रकम रहेको बाकस चढाइसकेको तथा काठमाडौंमा पनि सुरक्षा फौजको उपस्थिति विमानस्थलमा हुने तथा मेनेजर आफै पनि विमानमा जाने हुँदा सुरक्षित रहने जानकारी दिँदै सैनिकको टिकटमा काठमाडौं जाने तैयारी गरे । यता अपहरणको लागि तैयार रहेका तीन जनामा एक जनाको लागि टिकटको आवश्यकता रह्यो । विमानमा काठमाडौं जान प्रतीक्षामा रहेकाहरूमा नेपाली चलचित्रका नायक सिपी लोहनी तथा उनकी पत्नी भारतीय नायिका माला सिन्हा पनि थिए । दुर्गा सुवेदीले सिपी लोहनीलाई आफू बिमार रहेको तथा आजै उपचारको लागि काठमाडौ जसरी पनि पुग्नुपर्ने भन्दै उनको टिकट फुत्काए ।

विमानभित्र पसेपछि कालो ओभरकोट र हातमा एक्स-रेको कागज बोकेका दुर्गा सुवेदी र वसन्त भट्टराई पाइलटनजिकैको सिटमा बसे । नगेन्द्र ढुङ्गेल भने केही पछाडि बसे । जहाज उडेको पाँच मिनेटमा विमानका को-पाइलट बैद्यले विराटनगर विमानस्थल टावरको सम्पर्क अफ गरेर काठमाडौं विमानस्थलको टावरसँगको सम्पर्कको लागि तैयारी गर्दै थिए । अचानक वसन्त भट्टराईले पिस्तोल निकालेर पाइलट आरके मानन्धरतर्फ सोझ्याए । यता दुर्गा सुवेदी हड्बडाउँदै थिए यस्तैमा विमानका परिचारकले दुर्गा सुवेदीलाई समाउन खोजे । वसन्तले साथमा .३२ क्यालिवर पेस्तोल त्यो पनि बिना लाइसेन्सको बोकेका थिए । उनले पेस्तोल देखाउदै परिचारक जिवी राईलाई नियन्त्रणमा लिँदै को-पाइलट श्रीदेव बैद्यलाई धम्काउन पुगे । यसरी शान्तसँग विमान नियन्त्रणमा लिन सफल भएका अपहरणकारीहरूले विमान भारतको फारविसगञ्ज तर्फ लैजान निर्देशन दिए । पाइलट आरके मानन्धरले विमान कोशी ब्यारेज भन्दा अगाडि पुगिसकेको हुँदा फारवीसगञ्ज लैजान नसकिने र बिहारकै वीरपुरतर्फ लग्न सकिने जानकारी दिए । फर्कंदा तेल कम हुने हुँदा कठिनाइ हुन सक्छ भने । हडबडाएका सुवेदीले शुरुमा विमान तिब्बत लैजान भनेका तर पाइलटले तेलको कमीले तिब्बत जान नसक्ने भनेका थिए भनिन्छ । यसरी हेर्दा योजनामा सरिक रहेका दुर्गा सुवेदीले अपहरणको समय डराएको प्रतीत हुन्छ तर उनले आफ्नो पुस्तकमा भने अपहरणको सम्पूर्ण ग्राण्ड डिजाइनिङ नै आफैले गरेको झैँ वर्णन गरेका छन् ।

फारविसगञ्जको घाँसेमैदान दोश्रो विश्वयुद्धको समय बेलायती सैनिक जहाजहरू अवतरण गर्न विमानस्थलको रूपमा बनाइएको थियो । नजिकै रहेको ठूलो सिमलको रुख टावरको रुपमा सिग्नल दिन सहज थियो । त्यही विमानस्थलमा विनोदप्रसाद अर्याल, सुशील कोइराला, मनहरी बराल, राजेन्द्र दाहाल र बिरु लामा (तामाङ) प्रतीक्षामा बसिरहेका थिए ।

घाँसे मैदानतर्फ टाढाबाट विमान आँउदै गरेको देखेपछि विनोद अर्यालले आफ्नो रातो सर्ट खोलेर बेस्सरी हल्लाउँदै संकेत गरे । यता जहाजभित्र रहेका अपहरणकारीहरू विमान फर्काएर फारविसगञ्जतर्फ सोझिएपछि खुशी भए । सुल्तान पोखरी देखिएपछि ढुक्क पनि भए । विमानले अवतरणको प्रयास गर्‍यो तर सफल भएन । फेरि आकाशमा चक्कर लगायो । विमानका यात्रुहरू त्रसित थिए । अपहरणकारी पनि के हुने हो भन्नेमा चिन्तित थिए । घाँसेमैदानमा प्रतीक्षारतहरू पनि विमान फेरि आकाशमा हराउँदा अन्योलमा रह्यो । तर दुई मिनेट नहुँदै विमानले अवतरणको दोश्रो प्रयास गर्‍यो । सफल अवतरणको साथै घाँसेमैदानमा बसेकाहरू तैयार अवस्थामा बसे । विमान रोकिनासाथ नगदले भरिएका तीनवटा बाकस निकालेर विमानलाई फर्कन लगाए । पाइलटले विमानलाई विराटनगरतर्फ सोझ्याए ।

गिरिजाप्रसादको जीप लिएर गणेश शर्मा आइपुगे । उनको साथ अन्य एक जीप पनि ल्याइएको थियो । छिटो-छिटो दुईवटा जीपमा तीनवटा बाकस राखेर जीप दार्जिलिङतर्फ हुइँकियो । यसरी तीस लाख भारु नेपाली काङ्ग्रेसका ‘योद्धा’हरूले लुटे । हुन त यसलाई पछि पुरुषार्थको रूपमा प्रस्तुत गरे, तर कुनै पनि अपराध जस्तोसुकै राम्रो कामको लागि भए पनि त्यो अपराध नै हुन्छ ।Terroristic ActivityM International Terrorism पुस्तकको २२६ पेजमा यस अपहरणलाई आतङ्कवादको रूपमा उल्लेख गरिएको छ ।

दुर्गा सुवेदीले आफ्नो पुस्तकमा झुठा कुरा धेरै लेखेको भन्ने साथका दुई अपहरणकारीका भनाइमा पनि देखिन्छ । विमानका अन्य यात्रुहरूको भनाइ कहिल्यै सामु नआएको हुँदा कसको भनाइ सत्य भन्ने अस्पष्ट नै छ । साथै सुशील कोइराला प्रधानमन्त्री बनेको समाचार विश्वभरका छापामा छापिँदा प्राय: छापाले ‘विमान अपहरणका नायक नै नेपालको प्रधानमन्त्री बने’ भनेर लेखे ।

अपहरणमा परेको ट्वीनअटर 9N–ABB विमान ३०० सिरिजको विमान थियो । शाही नेपाल वायुसेवा निगमले खरिद गरेको यो विमान २०२८ असार ३ गते हस्तान्तरण भएको थियो । विमान अपहरणपछि पनि नियमित उडानमा रहेको यो विमान २०४९ असार २१ मा जुम्ला विमानस्थलमा सामान्य दुर्घटना भएको थियो । मर्मतपछि सुचारु रहेको यो विमान अन्तत: २०७० फागुन ४ गते काठमाडौंबाट जुम्लाको उडानको क्रममा पोखरा विमानस्थलमा रोकिइ उड्ने क्रममा सम्पर्कविहीन रहेको यो विमान अन्तत: अर्घाखाँची जिल्लाको मसिने लेकमा ठोक्किएर दुर्घटना भएको पाइयो । जसमा चालक दलसहित १८ जनाको निधन भएको थियो । दुर्घटनापछि टुक्रिएको विमानको सामग्री जम्मा गरेर फेरि यसलाई जोडेर वीपी संग्रहालय सुन्दरीजलमा राखिएको छ ।