दृष्टिविहीनको सहयोगार्थ ९ सय ५० थान सेतो छडी हस्तान्तरण

दृष्टिविहीनको सहयोगार्थ ९ सय ५० थान सेतो छडी हस्तान्तरण


अपाङ्ता संरक्षण नेपालले आइतबार (मङ्सिर २५) आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा बीपी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार पनि सहभागी भए ।

फाउन्डेसनका सचिव साहिलले दृष्टिविहीनहरूको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९ सय ५० थान सेतो छडी हस्तान्तरण गरे ।

बीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि रहेको बताइएको छ । फाउन्डेसनले कोभिड-१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।

ज्ञातव्य छ, भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बीपी कोइराला फाउन्डेसनको स्थापना भएको हो । दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयामिक पक्ष तथा कला, साहित्य, बौद्धिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने फाउन्डेसनको उद्देश्य रहेको जनाइएको छ ।