अक्कली मान्छेका सक्कली सोच

अक्कली मान्छेका सक्कली सोच


मान्छेको बुद्धि सुध्रियो भने समाजमा सुख, शान्ति र समृद्धिको आगमन हुन्छ/झुल्किन्छन् । ज्ञानको उज्यालो भएको ठाउँमा ‘राक्षस’ले पाइलो राख्न सक्दैन ।
  • रामेश्वर राउत ‘मातृदास’

एकपल्ट एउटा मानिस एक्लै यात्रा गरिराखेको थियो । हिँड्दै जाँदा उसले बाटोमा विभिन्न किसिमका रमणीय प्राकृतिक दृश्यावलोकन गर्‍यो । कतै ठूलाठूला तालतलाउहरू आउँथे, कतै विशाल नदीहरू र भयानक डरलाग्दा जनावरहरूसँग उसको जम्काभेट हुन्थ्यो । एवम् रितले दिन बित्यो । साँझपख ऊ एउटा खाली घरको सामुन्ने पुग्यो । दिनभरिको थकानले ऊ लखतरान परेको थियो । उसले त्यो रात त्यहीँ बस्ने निधो गर्‍यो । आफ्नो साथमा भएका लत्ताकपडा र ताम्लाकाम्ला त्यहीँ राखेर आफूसँग भएको रूखासुखा खानपान गर्‍यो । र, निद्रादेवीको काखमा शिर अड्यायो । ऊ भुसुक्क निदायो र मध्येराततिर एक्कासी झस्याङ बिम्झियो ।

ऊ बिम्झँदा त्यहाँ एउटा राक्षसले डरलाग्दो एउटा लाश ल्याएर भूइँमा राख्यो । त्यसको केहीबेरपछि अर्को राक्षस पनि त्यहीँ आइपुग्यो र त्यहाँ राखिएको लाश उसैको हो भनेर दावी गर्न थाल्यो । त्यो लाशको विवादमा दुवै राक्षसका बीचमा घोरघमासान झगडा पर्न थाल्यो । दुवै राक्षसको उखरमाउलाले गर्दा वरिपरिको वातावरण तनावपूर्ण हुँदै गयो । विचरो बास बस्न आएको त्यो यात्रुको हंशले ठाउँ छाड्न आँटिसकेको थियो । तैपनि उ हिम्मत र आँट बटुलेर राक्षसहरूको भिडन्ते तमासा हेरिरहेको थियो ।

दुई राक्षसका बीचको युद्ध मत्थर हुँदानहुँदै दुवैका श्रीमती राक्षसीहरू पनि त्यहीं टुप्लुक्क आइपुगे । उनीहरू पनि सम्धीभन्दा के कम्ती ! एकापसमा चुल्ठो समातेर पुल्ठो हानाहान गर्न थाले । दुवैले कपाल लुछालुछी र भुत्लाभुत्ली गर्न शुरू भयो । त्यो विभत्स तमासा र भयभित दृश्यले बास बसेको बिचरो बटुवा थर्कमान भइरहेको थियो ।

आए आँप गए झटारो । राक्षसहरूलाई कसैको कुनै चासो र मतलब थिएन । आफूले रोजे र खोजे अनुरूप नभए उनीहरू जोसुकैलाई जे पनि गर्थे । जे-जसरी हुन्छ आफ्नो एकलौटी सुखसुविधा र भोगविलासका लागि मात्रै मरिहत्ते गर्थे दुष्टता राक्षसहरू । यथार्थमा त्यो यात्री पुगेको देश सृष्टिकै सर्वाधिक सुन्दर र मनोरम थियो । हिमालयहरूले अहोरात्र पहरा दिइरहेका हुन्थे । स्वर्गको शिर थियो त्यो देश । त्यहाँ नभएको बस्तु संसारमै दुर्लभ थियो ।

अभाव र अपुग कसैलाई केही थिएन । सबैजना सुखी र शान्त थिए । ज्ञान, विद्या, बुद्धिको विमर्श भैरहन्थ्यो । आपसमा भएका कमीकमजोरीहरू सुधार्नुपर्छ भन्ने ज्ञान सबैमा थियो । त्यहाँ भएको सुव्यवस्था राक्षसहरूका लागि खपिसक्नु भएन । भाँडभैलो-उदण्ड राक्षसहरू व्यवस्थित समाजलाई भताभुङ्ग बनाउन चाहन्थे । देशलाई भत्काउनु नै उनीहरूको पुरूषार्थ हुन्थ्यो । समाजमा रूवाबासी हुँदा उनीहरूका लागि हर्ष बडाइँ हुन्थ्यो । अरूलाई अभाव र अज्ञानको अन्धकार भुङ्ग्रोमा हालेर आफू मात्रै मोजमस्ती गर्नुपर्छ भन्ने दरिद्र विचारका भरिया थिए हन्तकाली राक्षसहरू । राक्षसहरूको त्यस्तो खपीनसक्नु कुकर्मले गर्दा त्यो रमणीय देशका पशुपन्छीहरू पनि आफ्नो थातबास छाडेर धमाधम परदेशतिर लागिरहेका थिए ।

माल पाएर चाल नपाएको देश भएको थियो त्यो । आखिरमा राक्षसहरू न परे ! उनीहरूलाई के को देश, के को भाषाभेष । उठ जोगी फड्कार छाला, जहाँपुग्ला त्यहीं आगो फुक्लाको झार्लाङ्गे नीति थियो राक्षसहरूको । जमीनमाथि जनावर र पन्छीहरू मात्र हैन जमीनभित्रका कीटपतङ्ग र गँड्यौलाहरूसमेत राक्षसहरूको बेढङ्गे मुर्खताबाट आजित भएका थिए । त्यहाँ कोही कसेको जिउ, धनको सुरक्षा थिएन । राक्षसहरूलाई लाटो रिस उठेपछि कुनै पनि बेला जोसुकैको हंशखरानी हुनसक्थ्यो ।

एऽ है तिखुले ! यत्रतत्रसर्वत्र खपिनसक्नु बनाउका थिए स्वर्गको शिरलाई दानवहरूले । भनौं, भनिसक्नु थिएन । खपौं, खप्नै मुश्किल थियो । अन्याय र अत्याचारको रापले सबैजना पीडित र प्रताडित भएका थिए । विचरा कोमल फूलहरू पनि आँसुको बलिन्द्र धारा बगाएर रोइरहेका थिए । हावा, पानी, नदीनाला, चराचुरूङ्गी, रूखविरूवा सबै सबै भयभित र सन्त्रस्त भैरहेका थिए । भनौं, भन्ने ठाउँ पनि कतै थिएन । सुनाउँ, सुनिदिने र बुझिदिने पनि कोही थिएनन् । जसको शक्ति उसैको रजाइँ थियो । आफू र आफन्तको हित बाहेक अरू कसैको भलो भएको देख्न सक्दैनथे घुनपुत्ले राक्षसहरू । शान्ति र समृद्धिको बाटोमा भयावह डँडेलो सल्काएका थिए । भएको भत्काउने, डढाउने, लडाउने र खरानी बनाएर उडाउने विध्वङ्सकहरूलाई राक्षसहरूले भलिभाँतिसँग उल्क्याएर राखेका थिए ।

अन्याय र अत्याचारको साँधी सीमा नै थिएन । हुकुमको जवाफ र कालको ओखती नलाग्नैझैं भएका थिए दानवहरू । सज्जन, विद्वान र इमान्दारहर माटोका मूर्तिजस्तै भएका थिए । उनीहरू, सत्य, तथ्य र यथार्थ कुरा कोही बोल्नै सक्दैनथे । सबैको मनमा राक्षसहर पीर र चिन्ताको राँकोझैं खपिनसक्नु भएर दन्किरहेका थिउ । सबैको लक्ष्य, उद्धेश्य र चाहना भनेकै दानवहरूको अत्याचारबाट उन्मुक्ति पाउने थियो ।

त्यो देशले एउटा होनहार आँटिलो, साहसी, बुद्धिमान र विवेकशील व्यक्ति चाहिराखेको थियो । बास बस्न आइपुगेको बटुवाले त्यहाँको सबै हालखबर नजिकबाट राम्ररी बुझ्यौं । उसले मनमने सोच्यो, संसार सम्पूर्ण प्राणीको साझा घर हो । यसलाई कसैले पनि बरवाद गर्न पाउँदैन । शक्ति हुनेले निर्वलहरूको अस्तित्वमाथि धावा बोल्छ भने त्यो अत्याचारलाई सहेर बस्नु ठूलो पाप हो । अन्यायीलाई पानीमुनि गए पनि त्यसै छाड्न हुँदैन । पृथ्वीमा भएको अन्याय, अत्याचार, दमन र थिचोमिचोलाई निर्भिकतापूर्वक घोक्रेठ्याक लगाउने प्रयास गर्नैपर्छ । सम्पूर्ण चेतनशील मान्छेको पहिलो कर्तव्य नै पृथ्वीमा सत्य र न्यायलाई बचाउनु हो । जहाँ सत्य र न्याय हुँदैन त्यहाँ केही पनि हुँदैन भन्ने वास्तविकता बटुवाले अत्यन्त राम्रोसँग बुझेको थियो ।

बटुवाले मनमनै विभिन्न अक्कल सोच्न थाल्यो । उसको मनमा आश र दृढविश्वास थियो । जसले मनसा, वाचा, कर्मले सबैको हित र कल्याण हुने काम गर्छ उसलाई समयले समेत साथ र सहयोग गर्छ भन्ने यथार्थ बोध बटुवालाई थियो । तर काम, कम चानचुने थिएन । अलिकता बुद्धि र अक्कल रड्कियो भने उसको प्राणपखेरू दानवहरूले कर्‍यामकुरूम चपाउँछन् भन्ने कुरा उसले राम्रोसँग बुझेको थियो । तैपनि उसले एकरित्त पनि हिम्मत हारेन र धैर्य गुमाएन । विपतमा परेको देश र समाजको रक्षा गर्नु नै आफ्नो जीवन र जन्मको सार्थकता हो भन्ने कुरा उसले मनमने सोच्यो । उसले आफ्नो जीवनलाई दानवहरूको दाँत र हातमा सुम्पेरै भएपनि आफ्नो देश र समाजलाई बचाई छाड्ने दृढ अठोट गर्‍यो ।

उता लाशको तेरो र मेरो विवादमा राक्षस र राक्षसनहिरूका बीचमा घमासान बङ्गारा हानाहानको लडान्त चलिरहेको थियो । बटुवाले आफ्ना भएभरका ईष्ट देवता र कुलदेवताहरूसँग पुकार र प्रार्थना गर्‍यो । जेजसरी हुन्छ जननी जन्मभूमि र उनको काखमा बसोबास गर्ने सम्पूर्ण प्राणीहरूको कल्याणकारी कार्यमा आफूलाई सबैको साथ र सहयोग रहोस् भनने कामना गर्‍यो । बटुवाले दायाँ बाँया एउटा लामो फलामको सिक्रि पनि लत्रिराखेको थियो । उसले विस्तारै फलामको पिँजडालाई उठायो र त्यसको बन्द रहेको ढोका खोल्यो । राक्षसहरू घम्साघम्सी लडिरहेको मौका पारेर फलामको सिक्रिले लाशको खुट्टा बाँधेर विस्तारै विस्तारै तानेर पिँजडाभित्र पठायो ।

राक्षस र राक्षस्नीका आँखा, सर्दै पिँजडाभित्र घस्रिंदै गरेको लाशमाथि पर्‍यो । हो न हो, लाश भाग्न लागेको ठानेर राक्षसहरू हाँप र झाँप गर्दै लाशलाई झम्टन पुगे । त्यही मौका छोपेर बटुवाले पिँजडाको फलामे ढोका ढ्याप्प बन्द गरिदियो । लाश झम्टेर आफ्नो अधिनमा राख्ने जोशले जागेका राक्षसहरूले आफू पिँजडाभित्र परेको पत्तै पाउन सकेनन् । र, राक्षस-राक्षसनीहरू पिँजडाभित्र फँसे । बटुवाले फलामको खमारी ठोकेर राक्षसहरूलाई उम्कन नसक्ने गरी बलियोसँग चुर्मुर्‍याएर बाँधे ।

सबैलाई पीडा र प्रताडना दिने दु:खदायी दानवहरू उम्कन नसक्ने खोरमा परेको हल्ला सबैतिर फैलियो । सबैमा खुशीयाली छायो । पशुपन्छीहरू वनजङ्गलमा हर्षले नाच्न थाले । दानवहरूले त्रासले बोल्न नसकेका सज्जन, विद्वानहरू उत्साही भए । दानवहरूको भयले आफ्नो थातथलो छाडेर परदेश लागेकाहरू आफ्नै देशमा फर्केर आए । आफ्नो मातृभूमिको अस्तित्व र महत्व बचाउन सबैले प्रण गरे । आफ्नो देशको शान्ति र सुरक्षालाई प्रवल बनाउन सम्पूर्ण देशबासीहरू एक ढिक्का हुने वाचा गरे ।

आपसी विरोध र बेमेल हुँदा पाएको सास्ती र हण्डर सबैलाई राम्रोसँग महशुस भयो । बाउन्न हण्डर त्रिपन्न ठक्कर खाएकाले समाजमा चेतनाका आँखा खुले । मेलमिलाप र एकताको महत्वका बारेमा सबैले राम्रोसँग बुझे । देश सबैको साझा घर हो र देश भएन भने कसैको पनि अस्तित्व नबच्ने रहेछ भन्ने कुरा सबैलाई थाहा भयो । देशरूपी आफ्नो घर आफैंले बनाउन सबैले जागरूकता देखाए । देश कमजोर भयो भने दानवहरूको उखरमाउलो र थिचोमिचोलाई सबैले खप्नुपर्ने रहेछ भन्ने कुरा त्यो देशका नागरिकहरूले पत्तो पाए ।

बिग्रेर भत्केका ठाउँहरू निर्माण गर्ने कार्य शुरू भयो । उजाड बगैँचामा ढकमक फूल फुल्न लागे । वातावरणमा फैलिएको उजाड छयाङ्ङ हटेर गयो । सबैको खुशीयालीमा खुशी भएर आफ्ना सुनौला प्वाँख फिंजाएर वनका मुजुरहरू नाच्न थाले । भयानक विपतको भुङ्ग्रोमा परेको देश र समाजलाई बटुवाको अक्कलले जोगाउन पाएकोमा सबैले बटुवाप्रति हार्दिक कृतज्ञता प्रकट गरे । आफूले मानवीय कर्तव्य पूरा गर्न पाएकोमा बटुवाले सन्तोष व्यक्त गर्दै भने ‘मति भत्केका मान्छेहरूकै बस्तीबाट दानवहरूको जन्म हुन्छ । मान्छेको मनमा उत्पन्न हुने दम्भ, दुर्भावना, घमण्ड र अकर्मण्यताले गर्दा नै दानवहरूले फैलने र फस्टाउने मौका पाएका हुन्छन् । मान्छेको बुद्धि सुध्रियो भने समाजमा सुख, शान्ति र समृद्धिको आगमन हुन्छ/झुल्किन्छन् । ज्ञानको उज्यालो भएको ठाउँमा ‘राक्षस’ले पाइलो राख्न सक्दैनन् भन्दै सबै मिलेर आफ्नो देश र समाजमा ज्ञानको बत्ती बाल्न अनुरोधका साथ बटुवा आफ्नो बाटो लागे ।