राराको सौन्दर्यपछाडि लुकेको पीडा

राराको सौन्दर्यपछाडि लुकेको पीडा


  • सुनिल उलक

२०२० फागुन २० गते मंगलबार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने वहाँ नै मुगुभन्दा बाहिरका पहिलो ब्यक्ति थिए । केवल त्यहीँका वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाउँबाहिरकाहरू कमैलाई मात्र थाहा थियो । रारा देखेर राजा महेन्द्र यति मन्त्रमुग्ध भए कि त्यही ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरिहाले ।

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा

राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागे । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरताले बिगार्न नहुने विचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिएपछि त्यसलाई पूर्ण गर्न पञ्चहरूको दौडधुप शुरु हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आँकलन गरेर रारालाई बस्तीरहित बनाउनुपर्ने निधो भयो ।

राजा रारा पुग्नु केहीको लागि खुशीको कुरा थियो । केही राजाका कविताले रमाए तर केहीको लागि भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो ।

तालनजिकै तीन बस्तीहरू मुर्मा, रारा र छाप्रु थिए । यी बस्तीमा रारा र छाप्रुमा मात्र करिव २३२ घरधुरी थिए । २३२ घरधुरीमा करिव १५०० को सङ्ख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडि भू-भागमा कोणधारी जङ्गलले भरिएको यो रमणीय ठाँउमा विभिन्न चराचुरुङ्गीको जलक्रिडास्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने निर्णय भयो । यसैबीच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो । करिव १०६ वर्ग किमी ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिव ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्तत: २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ती जनताको लागि बाँके-बर्दियाको बीच जङ्गलको भूभाग छुट्याइयो । उच्च पहाडी भूभागमा बसोबास गर्नेहरूको लागि तराइको उखर्माउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दी अस्विकार गर्ने वा विरोध गर्न सक्ने कसैको आँट नै हुँदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानुभन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने विचारसम्म गरे, तर कसैको सुनिएन ।

करिव ४५ वर्षअगाडिको त्यो दिन गाउँलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर–घरका ढोका ढक्ढकाउँदै सरकारी निर्णय सुनाउने आएँ, ‘बस्ती तुरुन्तै खालि गरी सरकारले दिएको तराइमा गएर बस्नु’ यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटुभित्रसम्म बिझ्ने आदेश । सयौँ वर्षदेखि बाजेबराजुदेखि बसिआएको थातथलो सधैको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तैयार भए । बस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचबिखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तैयार भए ।

यो बस्तीको कथा यति नयाँ होइन र धेरै पुरानो पनि होइन । पृथ्वीनारायण शाहको एकिकरण अभियानपछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य बिस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यही क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा वि.सं १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए । आक्रमणपछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्लातर्फ भागे, त्यहाँबाट तिब्बतमा शरण लिन पुगे । राजाले तिब्बतमा शरण लिन पुगे तर नातेदार तथा राज्यका केही जनता जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तरतर्फ लागेका थिए । तिनै जुम्लेलीहरू नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरू राजाका नातेदारहरू थिए भने अन्य जुम्ला राज्यका जनताहरू थिए । यसरी झण्डै २०० वर्ष देखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रतिपरिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । यिनीहरूको सोचाइमा सरकारले एकदिन फेरि यही ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिँडेर सो नयाँ ठाउँमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो, ब्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहीँ नजिकै बस्ने पुरानो बस्तीका मानिसहरूबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासीझैँ नयाँ बस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिलेदेखि बसेका ३८ घरधुरीलाई अन्यत्र ब्यबस्थापन गराइएपछि बल्ल यी रारावासीलाई केही सन्तोष भयो ।

४० वर्ष बित्न लाग्दा रारावरपर नयाँ बस्तीको शुरुवात भएको र होटलहरू खोल्न दिएको तर आफूहरूलाई फर्कन नदिँदा यिनीहरूको मनमा पक्कै पनि अति दु:ख लागेको हुनुपर्छ । अहिले रारा ताल घुम्न पुग्नेहरू राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन्, तर यिनीहरूको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझै पनि पुराना मन्दिरहरू तथा ढुङ्गेधाराहरू संरक्षणको पर्खाइमा छ । मुटूमाथि ढुङ्गा राखी बस्ती छोडेर गएकाहरूको पुस्ता बिस्तारै सकिँदै जाँदा पीडा पोख्नेहरू हराउँदै गए । नयाँ पुस्ता नयाँ ठाउँमा रमाइसकेका छन् ।

साथमा बायाँतर्फ २०३२ सालमा खिचिएको रारा ताल तथा उत्तरतर्फ देखिएको काजिरोवा हिमाल । तथा दायाँतर्फ त्यही ताल किनारनजिकै रहेको रारा गाँउको बस्तीमा बस्ने केही बालकहरू घरअगाडि रमाइरहेको देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्वाउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्बिर त्यो बस्तीको सायद अन्तिम तस्बिरहरू मध्यका हुन् । यो बालकहरूको खेलकुद तथा रमाइलो पलहरू शायद यहाँको लागि अन्तिम भयो । यसको केही समयपछि नै यहाँको बस्ती सबै हटाइएको थियो ।