गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने


नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा पुस ६ देखि १० गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पहिलो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सो प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीनकुमार गुरुङले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता रहने छ भने प्रतियोगिताको विजेताले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी उपविजेताले नगद एक लाख, तृतीय हुने टोलीले रु ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले रु २५ हजार पुरस्कार पाउने गण्डकी प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्दा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही रु १०/१० हजार प्राप्त गर्नेछन् । विभिन्न जिल्लाले प्रतियोगिताका लागि टोली छनोट गरिसकेको बताइन्छ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकी र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा भएको प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको महासचिव थापामगरले बताए ।