चेतन हत्या-प्रकरणमा मुछिएका वडाअध्यक्ष निलम्बनमा, ‘बाजुरा बन्द’ फिर्ता

चेतन हत्या-प्रकरणमा मुछिएका वडाअध्यक्ष निलम्बनमा, ‘बाजुरा बन्द’ फिर्ता


  • मोहन जोशी, धनगढी

चेतन अयडी हत्या प्रकरणमा मुछिएका बाजुराको त्रिबेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडी निलम्बनमा परेका छन् ।

त्रिवेणी-७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडाध्यक्ष अयडीलाई पूर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडाध्यक्षबाट उनी निलम्बनमा परेका हुन् ।

वडाध्यक्ष अयडीलाई थुनछेक आदेशमार्फत कारागार पठाइएपछि पदबाट स्वत: निलम्बनमा परेको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको जानकारी दिए । उनी निर्दोष रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनको भनाइ छ ।

मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेशमार्फत वडा अध्यक्षसहित ९ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।

२४ मध्ये १० जनामात्र प्रक्राउ परेका थिए । एक जना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकी १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकी १५ जनालाई ३० दिनभित्र अदालतमा हाजिर हुन पत्राचारसँगै वारेन्ट जारी गरेको छ ।

वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा २ महिनापहिला जिल्ला अदालत बाजुराबाट १ लाख धरौटीमा छुटेका थिए । वडाध्यक्षसहित अन्य ३ जना १ लाख धरौटीमा छुटेका थिए । त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलितमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

त्रिवेणी ७ को नाट्यश्वरी आधारभुत विद्यालयमा मतदानको विवादलाई लिएर भएको झडपमा दुई जनाको मृत्यु भएको थियो । मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर कांग्रेसका स्थानीय कार्यकर्ता वडा नम्बर ७ निवासी सञ्जिव अयडीको मृत्यु भएको थियो ।

यस्तै, ४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए ।

अनेरास्ववियुले गरेको बन्द फिर्ता

नेकपा एमालेनिकट अनेरास्ववियु बाजुराले ‘बाजुरा बन्द’ फिर्ता लिएको छ । अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैरसरकारी कार्यालय बन्द गरेको थियो ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना बित्न लाग्दासमेत प्रहरीले पक्राउ नगरी चरम लापर्बाही गरेको भन्दै बाजुरामा पुस ४ गतेदेखि यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका लक्ष्मण रोकायाले बताए ।

अनेरास्ववियु बाजुराले एक विज्ञप्तिमार्फत मंगलबार साँझ ४ बजेबाट बन्द फिर्ता लिएको अनेरास्ववियु बाजुराका सहसचिव प्रेम नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरिएको थियो । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई कांग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर विभत्स हत्या गरेको भन्दै चेतनका बुबा गगन अयडीले २४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २४ मध्ये ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।