काङ्ग्रेस संसदीय दलमा सर्वसम्मत हुने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । संसदीय दलको नेतामा देउवालाई टक्कर दिन गगन थापा अगाडि सरेका छन् । गगनलाई नेता शेखर कोइरालाको साथ रहेको छ ।
पौष ४ गते सोमबारसम्म संसदीय दलको नेतामा शेरबहादुर देउवासँग शेखर कोइरालाले प्रतिस्पर्धा गर्ने तयारी भइरहेको थियो । सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका डा. कोइरालाले संसदीय दलको नेताका रूपमा पनि खडा भएर आफूलाई देउवाको दह्रो विकल्पको रूपमा आफूलाई उभ्याउने अपेक्षा गरिएको थियो । डा. कोइरालाले आफ्ना निकटवर्ती केही सांसदहरूसँग आफू संसदीय दलको नेताका रूपमा उठ्न चाहेको बताउनु पनि भएको थियो । तर पौष ५ गते मंगलबार युवा नेताहरूको दबाब र भविष्यमा सभापतिमा निर्विवाद समर्थन गर्ने शर्तमा डा. कोइराला गगन थापालाई समर्थन गर्न पुग्नुभएको बुझिएको छ ।
शेरबहादुर देउवालाई संसदीय दलको नेताका लागि रामचन्द्र पौडेल प्रस्तावक बसेका छन् भने विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशमान सिंहलगायतका नेताहरूको समर्थन रहेको छ । नेपाली काङ्ग्रेसमा ८९ सांसदमध्ये ३३ जनाको साथ गगन थापालाई रहने र बाँकी ५३ जना शेरबहादुर देउवाको पक्षमा रहेका छन् । पार्टीको महाधिवेशनमा महामन्त्रीको रूपमा प्रतिस्पर्धा गरेका नेताहरू डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल तीनै जना गगनको पक्षमा उभिएका छन् । अधिकांश युवा सांसदहरू गगनको पक्षमा छन् भने पाका, केही युवा र धेरैजसो महिला सांसद शेरबहादुर देउवाको पक्षमा रहेका छन् ।
प्रतिक्रिया