राष्ट्रपति पदमा सोझो, आफ्नै बुद्धि र विवेकले चल्न नखोज्ने मानिसको खोजी नेताहरूबाट भइरहेको छ । माधव नेपाल, झलनाथ खनाल र रामचन्द्र पौडेल जस्ता नेताहरूलाई राष्ट्रपति बनाएर जोखिम मोल्ने पक्षमा प्रचण्ड र शेरबहादुर मात्र होइन केपी ओली समेत नरहेको बुझिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति बन्ने योजनाका साथ अग्रसरता लिएका छन् । केही अघिसम्म आलोपालो प्रधानमन्त्री बन्ने आशामा रहेका माधवले गत सातादेखि इच्छा परिवर्तन गरेर राष्ट्रपति बन्ने योजना बनाएका हुन् । माधव अचानक प्रधानमन्त्री छोडेर राष्ट्रपति बन्ने योजनामा किन लागे भन्ने यकीन हुन सकेको छैन । तर आफूले बनाएको पार्टीको भविष्य अन्धकार रहेको र, प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोले उनले राष्ट्रपति बनेर उचाइ प्राप्त गर्ने मन बनाएको बताइन्छ । उनले प्रचण्ड र शेरबहादुर देउवासँग भेटेर आफूलाई राष्ट्रपति बनाउन सहयोग मागेका छन् ।
माधव नेपालको आफ्नो इच्छा या शेरबहादुर र प्रचण्डकै इच्छा मात्रले कोही राष्ट्रपति बन्न पाउने स्थिति अहिले नेपालमा छैन । बाह्यशक्ति माधव नेपाल र रामचन्द्र पौडेल जस्ता ब्यक्तिहरूका पक्षमा उभिने सम्भावना देखिएको छैन । पश्चिमा शक्तिले अहिले गोर्खाका बाबुराम भट्टराईलाई राष्ट्रपतिको रूपमा हेर्न चाहेको बुझिन्छ । तथापि, भट्टराईका पक्षमा शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल कोही पनि नभएकोले उनलाई नेपालीले राष्ट्रपतिको रुपमा ब्यहोर्नु नपर्ने विश्वास गरिएको छ । काङ्ग्रेस सभापति देउवाले बहालवाला सांसद कासैलाई पनि राष्ट्रपति नबनाइने मानसिकता बनाएका छन् । उनको यस्तो धारणाले रामचन्द्र पौडेलको बाटो छेक्ने ठानिएको छ । पौडेल प्रधानमन्त्री बन्न नपाए पनि राष्ट्रपति बन्न पाइने विश्वासमा थिए ।
त्यस्तै, कतिपयले प्रकाशमान सिंहलाई राष्ट्रपति बनाउनुपर्ने सुझाव पनि देउवालाई दिएका थिए । काङ्ग्रेसबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपति बनाइने सम्भावना प्रबल भएपनि महन्थ ठाकुर आफै राष्ट्रपति बन्न चाहेमा अन्यको सम्भावना न्यून भएर जाने अवस्था छ । एमालेले राष्ट्रपति बनाउने मौका पाएमा कसलाई बनाउला भन्ने अहिलेसम्म यकीन छैन, तर धेरैले त्यस्तो मौका आएमा सुवास नेम्वाङलाई अघिसारिने अनुमान गरेका छन् । यद्यपि केपी ओली नेम्वाङ भन्दा पनि अरु नै कोही सिनियर र बहुस्वीकार्य ब्यक्तित्वको खोजिमा रहेको बताइएको छ । केहीले खिलराज रेग्मी र अनुराधा कोइरालाको नामसमेत सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा ल्याए, तर कानूनी र अन्य कतिपय कारणवश दुवैको सम्भावना नरहेको बुझिएको छ । बताइएअनुसार केपीले अहिलेसम्म सम्भावित राष्ट्रपतिबारे कुनै सङ्केत दिएका छैनन् । उनले अकस्मात कुनै नयाँ नाम अगाडि सार्न सक्ने अनुमान ओलीका निकटवर्तीहरूले गरेका छन् ।
राष्ट्रपति पदमा सोझो, आफ्नै बुद्धि र विवेकले चल्न नखोज्ने मानिसको खोजी नेताहरूबाट भइरहेको छ । माधव नेपाल, झलनाथ खनाल र रामचन्द्र पौडेल जस्ता नेताहरूलाई राष्ट्रपति बनाएर जोखिम मोल्ने पक्षमा प्रचण्ड र शेरबहादुर मात्र होइन केपी ओली समेत नरहेको बुझिएको छ ।
यसैबीच अस्वस्थ बन्न पुगेका नेता नेपाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । रुघाखोकी, ज्वरो र छातिमा सामान्य सङ्क्रमण देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको बताइएको छ । सङ्क्रमण फैलनसक्ने जोखिमलाई दृष्टिगत गर्दै चिकित्सकको सुझावअनुसार अस्पतालमा सबै किसिमका भेटघाट बन्द गरिएको बताइएको छ ।
प्रतिक्रिया