प्रहरी महानिरीक्षकको नाममा जरुरी पत्र

प्रहरी महानिरीक्षकको नाममा जरुरी पत्र


-वीरेन्द्रमणि पौडेल
महानिरीक्षकज्यू, नमस्कार
तपाईं राज्य सञ्चालनका प्रक्रियालाई व्यवस्थित गर्न गठित गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको प्रमुख हुनुहुन्छ । मानव जीवनमा धन र जीउको सुरक्षाको महत्त्व कति हुन्छ बताइरहन पर्दैन । तपाईं यतिबेला त्यो जिम्मेवारी बोकिरहनुभएको छ जुन जिम्मेवारी कठिन र चुनौतीपूर्ण त छ नै महत्त्वका हिसाबले सबैभन्दा महत्त्वपूर्ण पनि छ । हरेक नागरिकले राष्ट्रको हितमा काम गर्नुपर्छ आ-आफ्नो हैसियत र जिम्मेवारीअनुसार । तपाईंले आफ्नो बल, बुद्धि र विवेक लगाएर जिम्मेवारी पूरा गर्ने प्रयास गर्नुभएकै ठानिएको छ तथापि एउटै मस्तिष्क घोषित लक्ष्य प्राप्तिका लागि पर्याप्त नहुने हुँदा मौजुदा नेपालको सुरक्षा व्यवस्थामा कमजोरीहरू देखिएका छन् । तपाईंकै नेतृत्व रहेकै बेला विद्यमान कमजोरीहरू हटून् भन्ने चाहना पलाएको हुँदा बुँदागत रूपमा तपाईंलाई घटना र विचार साप्ताहिकमार्फत निम्न सल्लाह पठाएको छु । सकारात्मक र उपयुक्त लागेमा कार्यान्वयनका लागि प्रयास गर्नुहुन अनुरोध गर्दछु ।
क) चाकडी र चाप्लुसीको इतिहास : राणाको हातमा शासनसत्ता भएको समय होस् वा शाहको, दलको शासन भएको बेला होस् वा वा निर्दलको जुनसुकै बखत शासकहरूले प्रहरीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ताको कवचको रूपमा प्रयोग गरेको इतिहास तपाईंले बुझ्नुभएकै होला । प्रहरी बिलकुल शान्तिसुरक्षा स्थापना कार्यमा खटिनुपथ्र्यो तर विरोधीको टाउकामा डण्डा वर्षाउने उपकरणको रूपमा प्रयोग गरियो । पञ्चायत जोगाउने प्रयासस्वरूप तत्कालीन महानिरीक्षक हेमबहादुर सिंहलाई प्रयोग गरिएको थियो । महानिरीक्षक रत्नशमशेरलाई ऐनमा संशोधन गरेर ०४८ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले आफ्नो हनुमान मोतीलाल बोहोरालाई महानिरीक्षक बनाए । शेरबहादुर देउवाले प्रहरी सङ्गठन तहस-नहस गर्न ऐन संशोधनमा हात हालेपछि उनको सिको पछिल्ला गृहमन्त्रीहरूले गरे । अच्युतकृष्ण खरेल र धु्रवबहादुर प्रधान काण्ड तपाईंलाई राम्रैसँग थाहा छ । अनावश्यक रूपमा गृहमन्त्रीको हस्तक्षेप हुने स्थितिले महानिरीक्षकहरू गृहमन्त्रीको चाकडीमा व्यस्त रहे । नेता र मन्त्रीको चाकडी र चाप्लुसी गर्दा महानिरीक्षकको कुर्सीमा बस्न पाइने लोभ अधिकृतहरूमा बढ्यो । रमेशचन्द ठकुरी तपाईंभन्दा कनिष्ठ भइकन चाकडी र चाप्लुसीका कारण अगाडि नै महानिरीक्षक भए । अब तपाईंले आफ्नो कार्यकाल सकिनुअगाडि नै राजनीतिक हस्तक्षेप मुक्त प्रहरी सङ्गठन बनाउन लबिङ गर्न जरुरी देखिएको छ चाहे त्यसका लागि तपाईंलाई क्षणिक अप्ठ्यारो किन नपरोस् ।
ख) प्रहरी अधिकृतहरूमा देखिएको सामन्ती प्रवृत्ति : प्रहरी अधिकृतहरूमा सामन्तवादी चिन्तन हावी भएको देखिन्छ । आफूभन्दा तल्ला दर्जाका प्रहरीलाई हेप्ने, कामदार र हरूवा चरुवाको रूपमा व्यवहार गर्ने गरेको देखिन्छ । यस्तो व्यवहारबाट तल्ला तहका कर्मचारीको हौसला मरेको छ भने माथिल्ला दर्जाका प्रहरी परिवारले तल्ला प्रहरीका परिवारलाई मानसिक चोट पुर्‍याएको देखिन्छ । हाकिमहरूको सामन्तवादी चिन्तन र चरित्रको चाँडोभन्दा चाँडो अन्त्य हुन जरुरी छ ।
ग) आर्थिक भ्रष्टाचारमा प्रहरी : प्रहरीले आर्थिक भ्रष्टाचार गर्छ भन्ने हरेक नेपालीको मन, मस्तिष्कमा टाँसिएको छ । सोझासाझा नागरिकलाई अक्करमा पारेर पैसा असुल्ने गर्छ भन्ने जनगुनासो व्याप्त छ । यो अवस्थालाई मनन गरेर तपाईंले प्रहरीहरूलाई भ्रष्टाचारी हुनबाट जोगाउने उपाय गर्नैपर्ने भएको छ ।
घ) रक्सी पिउने प्रहरी : नेपालको विकास, निर्माण र शान्तिसुरक्षामा अवरोध पुर्‍याउने तत्त्वहरूमध्ये पहिलो नम्बरमा रक्सी सेवनलाई मानिएको स्थितिमा विज्ञहरूका अनुसार ५६,०५७ ?छपन्न हजार सन्ताउन्न) जनपथ र २५,७८० (पच्चीस हजार सात सय असी) सशस्त्र प्रहरीमध्ये असी प्रतिशतले अनुशासनहीन तरिकाले रक्सी सेवन गर्छन् जसका कारण एकातर्फ उनीहरू शान्तिसुरक्षा स्थापनाकार्यमा कमजोर देखिएका छन् भने मदिरामा पैसा उडाएका कारण परिवार पाल्न कठिन हुँदा भ्रष्टाचार गर्न अग्रसर भएका छन् । प्रहरीको अनुशासनहीन प्रकारको रक्सी सेवनले मुलुकलाई हरेक कोणबाट घाटा पुर्‍याएको प्रस्ट देखिन्छ । तपाईंले प्रहरीलाई रक्सी सेवनमा अनुशासित बन्न निर्देशित गर्न जरुरी भइसकेको छ ।
ङ) प्रहरी सङ्ख्या न्यून : नेपालमा पछिल्लो जनगणनाअनुसार यतिबेला दुई करोड ७० लाख जनता छन् । तर, प्रहरी सङ्ख्या जनपथ ५६,०५७ र सशस्त्र २५,७८० गरी जम्मा ८१,८३७ रहेको छ । यसरी हेर्दा एक प्रहरीले तीन सय तीसजनाको जीउधनको सुरक्षा गर्न परिरहेको छ जुन सम्भव छैन र यो अवस्थालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रहरी सङ्ख्या कम भएको मान्नुपर्छ । एक प्रहरीको जिम्मामा तीसदेखि पचासजनाको सुरक्षा जिम्मेवारीलाई उचित भन्न मिल्ने बताइन्छ । एकातर्फ प्रहरी सङ्ख्या कम त छँदै छ त्यसमाथि परिचालनका हिसाबले पनि कमजोरी देखिन्छ । करिब पचास प्रतिशत प्रहरी दिनको समयमा परिचालित भएको देखिन्छ भने रातको समयमा प्रहरी परिचालित भएकै देखिँदैन । यदाकदा देखिए पनि नाम मात्रको सङ्ख्यामा परिचालित देखिन्छ । अपराध दिनमा कम र रातमा ज्यादा हुन्छ । रात र दिन दुवै समयमा पर्याप्त प्रहरी परिचालन गर्न जरुरी छ तर यसका लागि सङ्ख्या न्यून छ यो सबैलाई थाहा छ । प्रहरी सङ्ख्या बढाउनुपर्छ र त्यसको जिम्मेवारी तपाईंकै काँधमा छ ।
च) शिक्षा र स्वास्थ्यको बजेट सुरक्षामा : मनाङ जिल्लाभरिका स्कुल, विद्यार्थी र शिक्षकको जे अवस्था छ त्यसलाई परिवर्तन गर्ने र स्वास्थ्य क्षेत्रमा भएको ब्रह्मलुटलाई नियन्त्रण गर्ने हो भने कम्तीमा २५ हजार प्रहरी दरबन्दी थप्न सकिन्छ । मनाङ जिल्लाभरि करिब १२०० विद्यार्थी छन् । छरिएर रहेका विभिन्न नामका विद्यालयमा २० जना, ३० जना, १६ जना, ४० जना प्रति विद्यालयमा विद्यार्थी छन् । पढाउने नाममा टनाटन शिक्षक छन् । यसरी शिक्षकले नपर्ढाई र विद्यालय नै नगई, नगन्य विद्यार्थीलाई पढाएर तलबभत्ता लिएका छन् । खाने, बस्ने व्यवस्था मिलाएर एउटै वा दुईवटा विद्यालयमा मनाङभरिका विद्यार्थीलाई पढाउने व्यवस्था मिलाउने हो भने लाखौँलाख खेर गएको रकम बचाउन सकिन्छ र त्यो रकमले प्रहरी दरबन्दी सिर्जना गरी सुरक्षा स्थिति मजबुत बनाउन सकिन्छ । यतिबेलै मध्यक्षेत्रका लागि करिब तीन सयजना प्रहरी भर्नाका लागि आवेदन माग गरिएकोमा करिब १३ हजार युवाले आवेदन दिएका छन् र तालिम केन्द्रलाई छनोट गर्न गाह्रो भएर ‘नङ’ बाङ्गो भयो भन्ने निहुँमा उम्मेदवारहरूलाई जबर्जस्ती अयोग्य घोषित गर्न परिरहेको छ । खेर गइरहेको रकम सदुपयोग गर्ने हो भने यतिबेला आवेदन दिएका सबै १३ हजार युवालाई भर्ना लिन सकिनेछ र सुरक्षा स्थिति सुधार्नसमेत सहयोग मिल्नेछ ।
छ) नेताहरूलाई थाहा नहुने विषय : जिन्दगीभरि राजनीति गरेका किन नहुन् प्रचण्ड, बाबुराम, सुशील, रामचन्द्र, झलनाथ र माधवहरूलाई शान्तिसुरक्षा कसरी कायम गर्ने ठीक उपाय थाहा नहुन सक्छ । खसी मार हान्ने एउटा विषय, मासु टुक्र्याउने, सफा गर्ने अर्को विषय र ढङ्ग पुर्‍याएर पकाइ-तुल्याई गर्ने अर्कै विषय हो । लडेर शासनसत्ता ढाल्ने एउटा विषय हो भने नयाँ स्थापित गरेर ठीक ढङ्गले चलाउने अर्कै विषय हो । तपाईं फोकटमा प्रहरी महानिरीक्षक हुनुभएको होइन । तपार्इं ठीक खालको शान्तिसुरक्षाको योजना बनाउन सक्षम हुनुहुन्छ र तपाईंलाई सजिलो पनि छ । खेर गएको बजेट सदुपयोग गर्न तपाईंले सरकारमा रहेका र प्रतिपक्षमा रहेकाहरूलाई सम्झाइ-बुझाई अनुरोध र कार्यान्वयन गराउन सक्नुहुन्छ । यदि तपाईंले यो वास्तविकता बुझेर सोहीअनुसार दलका जिम्मेवार नेताहरूलाई मनाउन बुझाउन सक्नुभयो भने एकातर्फ बेरोजगारी समस्या समाधान हुन्छ भने अर्कोतर्फ शान्तिसुरक्षाको स्थिति मजबुत हुन्छ । खेर गएको बजेटसमेत सदुपयोग हुन्छ । यी विषयहरूका अतिरिक्त मुलुकभरि मदिरा सेवन गरेर सवारीसाधन हाँक्न तत्काल प्रतिबन्ध लगाउनुपर्छ । प्रहरीले नाता-सम्बन्धलाई हेरेर होइन कानुन पालना गर्न लगाउनुपर्छ । प्रहरीलाई आफू पालिन र परिवार पाल्न यतिबेलाको तलब, रासन कम भएको हो भने बुझेर तलबभत्ता बढाउन पहल गर्नुपर्छ र आर्थिक भ्रष्टाचारबाट प्रहरीलाई शतप्रतिशत टाढा राख्नुपर्छ । प्रहरीहरूलाई आफू स्वयम् शासक हुँ भन्ने भ्रम रहेको देखिन्छ । प्रहरी शासक होइन सेवक हो भन्ने कुरा अब तपाईंले बुझाउनुपर्छ । दौडिन, सलाम ठोक्न र बन्दुक चलाउन मात्र सिकाएर प्रहरी अब प्रहरी हुन सक्दैन । २१औँ शताब्दीको विश्व मापदण्डअनुसार प्रहरीलाई सक्षम बनाउनुपर्छ । त्यसका लागि तपाईंले अब हरेक प्रहरीलाई अङ्ग्रेजी भाषा, कम्प्युटर र सवारीसाधन हाँक्न विशेष तालिम दिलाउनैपर्छ । नेपाली प्रहरीहरू उतिसारो सहयोगी भावनाका छैनन् भन्ने जनगुनासो रहेको छ । मानव अधिकारसम्बन्धी हरेक प्रहरीलाई अब तालिम दिनैपर्छ । नेपाल प्रहरीको इज्जत नेपाली जनताको इज्जतसँग जोडिएको छ । सुडान घोटाला काण्डमा तपाईंको प्रहरी सङ्गठनका केही अधिकृतहरू मुछिए जसका कारण नेपाली जनताको इज्जतमा कालो दाग लाग्यो भने सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले श्रीमती मार्दा पनि त्यसको नकारात्मक असर जनतामा पर्न गएको छ । जिम्मेवार प्रहरी अधिकृतको यस्तो अमानवीय हर्कतबाट नेपाली जनताको शिर निहुरिएको छ । प्रहरीलाई यस्ता कुकर्म गर्नबाट रोक्न तपार्इं स्वयम् अघि बढ्न आवश्यक छ ।
अन्त्यमा, महानिरीक्षकज्यू,
प्रकृतिलाई जित्न सकिँदैन । मानिस पेसाबाट मात्रै निवृत्त हुने होइन, जीवनबाटै एक दिन निवृत्त हुनुपर्छ । एक दिन आउँछ- रवीन्द्रप्रताप शाह प्रहरी महानिरीक्षक पदबाट निवृत्त भए । अर्को एक दिन पनि आउँछ- भूतपूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहप्रति हार्दिक श्रद्धाञ्जली । यो वास्तविकता तपाईंले बुझ्नुभएकै छ, त्यसैले विगतका प्रहरी महानिरीक्षकजस्तो होइन प्रहरी सङ्गठनलाई साँच्चैको मजबुत र विश्वासिलो सङ्गठनको स्वरूप दिन भूमिका निर्वाह गरिदिनुस् । यदि तपाईंले यी सल्लाहमध्ये केहीलाई मात्रै कार्यान्वयन गर्न/गराउन सक्नुभयो भने सोच्नुस्- रवीन्द्रप्रताप अमर भए । बाँकी तपाईकै मर्जी ।