नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वार्ता सुरु भएको छ । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।
छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेको बताइएको छ ।
सरकार गठनका लागि एमालेको ७८ सिट, माओवादीको ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटको हुन्छ । यसकारण एमालेसँग मिलेर आजै सरकारको दावी गर्ने सम्भावना पनि छ ।
यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका थिए ।आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केको नेता पौडेलको भनाइ थियो ।
‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो’, पौडेलको भनाइ थियो ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका अनुमान गरिएको छ ।
प्रतिक्रिया