सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाँदै

सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाँदै


माओवादी केन्द्र संसदीय दलका नेता तथा सो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दलबीच सहमति भएको छ । प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर प्रचण्ड राष्ट्रपति कार्यालय जाँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच सहमति भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दावी गर्न राष्ट्रपति भवन शीतल निवास जाने तयारीमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरिएको थियो। उक्त समय सकिन एक घण्टा बाँकी छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिएको छ । बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

सहमतिपत्रको ड्राफ्ट बनाउने कार्यमा एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेका थिए ।