मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई सङ्घीय संसद् सचिवालयले निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो ।
गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ ।
“प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वत: निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने” व्यहोराको अख्तियारको पत्र पुस ८ गते संसद् सचिवालयमा आइपुगेको जनाइएको छ ।
गुरुङविरुद्ध अख्तियारले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो ।
प्रतिक्रिया