पर्दापछाडिका तीन+एक ‘किङ मेकर’

पर्दापछाडिका तीन+एक ‘किङ मेकर’


पौष १० गते आइतबार विदेशी पर्वको दिन, अचानक सत्ता गठबन्धन टुटेको र बाम गठबन्धनको नयाँ सरकार बन्न लागेको खबर बाहिरिँदा धेरै मानिस छक्क परे ! कतिलाई यो खबरमाथि विश्वास नै भएन भने धेरैले अप्रत्याशित घटनाको रूपमा यसलाई लिए । आगामी दुई दशकसम्म काङ्ग्रेस-माओवादीको गठबन्धन कायम रहने घोषणा भएको केही साता नबित्दै प्रचण्ड केपी ओलीको समर्थनमा प्रधानमन्त्री बन्न लागेको समाचार सुनेर कतिपयले राजनीतिप्रति नै वितृष्णा प्रकट गरेको देखियो भने कैयन मानिस यस घटनाबाट स्तब्ध हुन पुगे ।

एमाले-माओवादी गठबन्धन अप्रत्याशित जस्तो देखिए पनि वास्तवमा यो सुनिश्चित र नियोजित घटना थियो । निर्वाचन भन्दा धेरै अघिदेखि नै कुनै न कुनै स्तरमा माओवादी र एमालेका नेताहरूबीच सम्वाद चलिरहेका थिए । एमालेका नेताहरू बिष्णु पौडेल, सुवास नेम्वाङ र गोकुल बास्कोटाले चुनावी परिणाम आइसकेपछि केपी शर्मा ओलीलाई वाम गठबन्धनको सरकार गठनको निम्ति पहल लिन सुझाव र दबाब दिइरहेका थिए । प्रचण्डलाई प्रधानमन्त्री दिएपछि उनी गठबन्धन तोड्न तयार हुन्छन् भन्ने विश्वास एमालेका नेताहरूलाई थियो र, शेरबहादुर देउवाले प्रधानमन्त्री पद छोड्न चाहँदैनन् भन्ने जानकारी पनि उनीहरूलाई थियो ।

केपी ओली वाम गठबन्धनका पक्षमा भए पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन उनको मन मानिरहेको थिएन । ‘किङ्ग मेकर’ नेताहरू बिष्णु पौडेल, गोकुल बास्कोटा र सुवास नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि सत्ता गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्थाको चित्रण गर्दै गठबन्धन नगर्दा पार्टीलाई पुग्ने क्षतिबारे केपीको ध्यानाकर्षण गराएपछि उनी प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न तयार भएका थिए ! केपी शर्मा ओली र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच पनि लामो समयदेखि सम्वाद चलिरहेकै थियो । एकातिर एमालेका वरिष्ठ उपाध्यक्ष बिष्णु पौडेल निरन्तर प्रचण्डको सम्पर्क र सम्वादमा थिए भने अर्कोतिर केपी ओली र नारायणकाजी श्रेष्ठबीच कायम सम्वादले पनि दुई पक्षबीचको सहकार्यको सम्भावनालाई बढाएको थियो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव बिष्णु रिमाल कुनै पनि हालतमा प्रचण्डसँग सहकार्य गर्नु हुँदैन भन्नेमा थिए । उनीहरू बरु शेरबहादुर देउवासँग उच्चस्तरको समझदारी बनाएर अघि बढ्नु उचित र उपयुक्त हुने धारणासहित केपीमाथि दबाब पैदा गर्दै थिए । तर बिष्णु पौडेल, गोकुल बास्कोटा र सुवासचन्द्र नेम्वाङको विश्लेषण र तर्कमा दम भएको महसूस केपीले गरे । प्रचण्डलाई प्रधानमन्त्री दिँदा राष्ट्रपति र सभामुख जस्ता जिम्मेवारी एमालेले पाउने, मन्त्रिमण्डलमा महत्वपूर्ण सहभागिता रहने र आफ्नो पालामा भएका संवैधानिक निकायका नियुक्तिहरू पनि सूरक्षित रहने लगायतका लाभपक्षको विश्लेषण गरेर बास्कोटा, पौडेल र नेम्वाङले केपीलाई लाइनमा ल्याएका थिए ।

उता काङ्ग्रेसले चरम पीडा दिएर रनाहामा परेका स्वतन्त्र सांसद डा. अम्रेशकुमार सिंह पनि प्रचण्ड र केपीबीचको समन्वयका निम्ति सूत्रधारको काम गर्दै थिए । डा. सिंह देउवालाई प्रधानमन्त्री बन्नबाट जसरी भएपनि रोक्नुपर्छ भन्नेमा दृढ थिए । उनले पनि नयाँ सत्ता गठबन्धन बनाउन अति महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राप्रपाका राजेन्द्र लिङ्देन केपीको मुट्ठीमा छँदै थिए, स्वतन्त्र पार्टीका नेतालाई पनि केपीले बाहिर गाली गर्दागर्दै भित्र आफ्नो बनाइसकेका थिए । सीके राउत र रेशम चौधरीहरू केपीसँग विशेष निकट छँदै थिए, उपेन्द्र यादव पनि प्रचण्डको विशेष पहलमा बाम गठबन्धनमै जोडिन पुगे ।

यो घटना अचानक र रातारात भएको थिएन । केही नेताहरूको निरन्तर प्रयास तथा विष्णु पौडेल, गोकुल बास्कोटा, सुवास नेम्वाङ र डा. अम्रेशकुमार सिंहको विशेष योजना एवम् सक्रियताको परिणामस्वरूप बाम गठबन्धनको सरकार बनेको हो । यस घटनाले पौडेल, बास्कोटा, नेम्वाङ र डा. सिंहलाई ‘किङ्ग मेकर’का रूपमा चिन्नुपर्ने स्थिति पैदा गरिदिएको छ ।