खुमलटारको कौसीमा प्रचण्ड र ओली, एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै !

खुमलटारको कौसीमा प्रचण्ड र ओली, एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै !


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार केपी ओली पुगेका हुन् ।

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।

‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

यसबैच, नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रचण्डनेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएको हो ।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ ।

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।