‘नो नट अगेन’का सर्जक र विरोधिहरू एउटै मोर्चामा !

‘नो नट अगेन’का सर्जक र विरोधिहरू एउटै मोर्चामा !


केपीले ‘फू’ गर्दा काङ्ग्रेस सडकमा !

नेपाली राजनीतिका पुराना पात्रहरूप्रति चरम असन्तुष्टि र आक्रोश प्रकट गर्दै आएका दुई छुट्टाछुट्टै समूहहरूको समर्थन लिएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका छन् । पूर्वपञ्चहरूको समूह राप्रपा र प्रचण्डप्रति सबैभन्दा बढी आक्रामक देखिएको स्वतन्त्र पार्टीको नेतृत्व प्रचण्डको पक्षमा उभिने अनुमानसम्म पनि गरिएको थिएन । राप्रपाका अध्यक्षले त काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूलाई सार्वजनिक रूपमा नै चोर भनेर सम्बोधन गरेका थिए । राजतन्त्र पुनस्र्थापना, सङ्घीयताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर राजनीतिक मैदानमा उत्रिएको राप्रपाले केका निम्ति प्रचण्डलाई समर्थन गर्‍यो भन्ने विषयलाई लिएर चौतर्फी तरङ्ग पैदा भएको छ ।

ज्ञातब्य छ, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको राजनीतिक स्वामित्व माओवादीले लिँदै आएका छन् र राप्रपाले बोकेको भनिएको एजेण्डाका सख्त विरुद्ध कुनै शक्ति छ भने देशभित्र माओवादी नै हुन् । कम्तिमा केपी शर्मा ओली त सङ्घीयताबारे फरक धारणा राख्छन्, उनलाई समर्थन गरेको भए पनि सङ्घीयताका विषयमा कुनै सहमति बन्ने सम्भावनालाई हेरेर गरिएको भन्न सकिन्थ्यो र, काङ्ग्रेसको समर्थन गरेको भए गैह्रकम्युनिस्ट कित्तामा उभिएको अर्थ लाग्नसक्थ्यो । सरकार बनाउने प्रक्रियामा कुनै पनि किसिमले सहभागिता नजनाउने निर्णय लिएको भएपनि निष्ठाको राजनीतिमा मोडिएको अनुमान गर्न सकिन्थ्यो ।

तर, प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गरेर राप्रपाले आफ्नो साख र जनविश्वास स्खलित गराएको छ । यसरी प्रचण्डलाई समर्थन गर्नुको कारण के हुनसक्छ भन्नेबारे सूक्ष्म अध्ययन गर्दा पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र दोस्रो, पूर्ण समानुपातिक प्रणाली जस्ता राजनीतिक एजेण्डामा समान धारणा भएकोले भन्ने देखिन्छ । माओवादी र राप्रपा दुवै पार्टीले आ-आफ्ना चुनावी घोषणापत्रमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ र ‘पूर्ण समानुपातिक प्रणालीका पक्षमा’ प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै, स्वतन्त्रको नाममा खोलिएको पार्टीले आफूलाई काङ्ग्रेस, एमाले र माओवादी भन्दा भिन्न सोच र शैलीका साथ काम गर्ने, केवल सत्ताका निम्ति लड्ने प्रवृत्तिको अन्त्य गराउने दाबी गर्दै आएको थियो । मानिसहरूले स्वतन्त्रहरूलाई माओवादी, एमाले र काङ्ग्रेसको विकल्पका रूपमा बुझेका थिए । तर सत्तामा जाने लालचमा स्वतन्त्र पार्टीले जे–जस्तो हर्कत देखायो त्यसले उक्त पार्टी पनि माओवादीहरू भन्दा भिन्न नरहेको सिद्ध गरेको छ । स्वतन्त्रका अध्यक्षले आफूलाई गृहमन्त्रालय नदिए सरकारमै नबस्ने भनी धम्क्याएपछि केपी ओली र प्रचण्ड निकै अप्ठ्यारोमा परेका थिए । राप्रपाले बाहिरबाट समर्थन दिने बताएपछि स्वतन्त्रवालाको बार्गेनिङ पावर बढेको थियो । राप्रपाले सरकारमा सहभागिता नजनाउने जानकारी पाएपछि स्वतन्त्रका अध्यक्ष एकाएक बार्गेनिङ गर्ने शैलीमा प्रस्तुत भएका थिए । स्वतन्त्रका अध्यक्षलाई गृहमन्त्रालय दिन केपी शर्मा ओली सबैभन्दा पहिले राजी भएका थिए र, केपीले नै अन्य नेताहरूलाई त्यसमा सहमत गराएका थिए । उक्त समूहले गृह नै किन खोज्यो, जनताको काम गर्ने अन्य मन्त्रालय किन रोजेन भन्ने प्रश्न एमाले र माओवादीका नेताहरूबीच उठेको बुझिएको छ । स्मरणीय छ, काङ्ग्रेस, एमाले र माओवादीहरूले पनि पद र सत्ताका निम्ति यस्तै प्रवृत्ति दर्शाउँदै आएका हुन् ।

चुनावअगाडि प्रचण्ड र केपीलगायतका नेताहरूको तस्बिर राखी ‘नो नट अगेन’ भन्दै प्रचारबाजीमा उत्रिएकाहरू र ‘नो नट अगेन’को नाराप्रति गम्भीर आपत्ति जनाउनेहरू सबै मतदातालाई स्तब्ध तुल्याउँदै अहिले एउटै कित्तामा मोर्चाबद्ध भएका छन् । यस घटनाले जनतामा थप निरासा बढाउने देखिएको छ । नयाँ सरकार गठन हुँदा जुन आशा र उत्साह पैदा हुनुपर्थ्यो त्यस्तो स्थिति अहिले देखापरेको छैन । केही दिनको रमिता हेर्ने र सरकारको दिन गनेर बस्ने मानसिकता आम मानिसले बनाएको पाइएको छ । तर केपी ओलीले राष्ट्रपति र सभामुख पद आफ्नो पोल्टामा पारिसकेपछि कस्तो खेल सुरु गर्लान् भन्ने जिज्ञासा भने सर्वत्र प्रकट भएको छ । काङ्ग्रेसले माओवादी र माधव नेपाललाई हात लिएर चुनावमा एमालेविरुद्ध मोर्चाबन्दी गर्नुको बदला केपीले नराम्रोसँग लिएका छन् । काङ्ग्रेसले निकै बल-बुद्धि पुर्‍याएर एमालेविरुद्ध गरेको मोर्चाबन्दी केपीले फुकेर तासको घरझैँ एकै झोक्कामा ढालिदिएका छन् ।