photo: rss
प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा सत्तासाझेदार दुई नेताबीच छलफल भएको थियो । गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया