नारायणकाजीप्रति नेतृत्व नै बक्री भएपछि…

नारायणकाजीप्रति नेतृत्व नै बक्री भएपछि…


नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनकै नेताहरूबाट अपमानित हुन पुगेका छन् । देखेको कुरा बोल्ने र कसैलाई बाँकी नराख्ने एक इमानदार नेताको छवि बनाएका श्रेष्ठप्रति प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनका मुख्य योजनाकार केपी शर्मा ओली नै बक्री भएको तथ्यहरूले देखाएको छ ।

एमालेले अर्थ मन्त्रालय लिएपछि नारायणकाजीले गृह मन्त्रालय पाउने निश्चित मानिएको थियो र, स्वयम् श्रेष्ठ पनि गृहको जिम्मेवारी लिने मानसिकतामा थिए । तर एमालेले अर्थ मन्त्रालय लिएपछि एकनाथ ढकालको सुझावमा उक्त मन्त्रालय स्वतन्त्र पार्टीको अध्यक्षलाई दिइयो । निजलाई गृह दिन केपी ओलीले प्रचण्डसँग अलिक चर्काचर्की नै गर्नुपरेको थियो । श्रेष्ठको हातमा गृह मन्त्रालय जान नदिन बाह्यशक्तिसमेत लागेको बताइन्छ । उनलाई भौतिक योजना मन्त्रालयमा लगेर थन्क्याइएको छ ।

जुन मन्त्रालय स्वीकार गर्न श्रेष्ठ अन्तिम घडीसम्म पनि तयार नभएको बुझिएको छ । त्यसमाथि मर्यादाक्रममा समेत तल पारेर नेतृत्वले उनको मानमर्दन गरेको छ । उपप्रधानमन्त्रीहरू मध्ये श्रेष्ठलाई बरियताको दोस्रो नम्बरमा राखिएको छ । एउटा पार्टीको प्रमुख भएर लामो समय वाम आन्दोलनमा सक्रिय रहेको र नेकपाको सचिवालय सदस्यसमेत रहिसकेका श्रेष्ठलाई दोस्रो बरियतामा राखिनुलाई उनको जानाजान अपमानका रूपमा लिइएको छ ।

प्राप्त जानकारीअनुसार मानमर्दन गरिएपछि श्रेष्ठले शपथग्रहणमै नजाने मानसिकता बनाएको, तर पार्टीका ‘शुभचिन्तक कमरेड’हरूको दबाब र सुझावका कारणले मात्र शपथ लिन राष्ट्रपति निवास गएको बताइन्छ । केपी मात्र होइन प्रचण्ड पनि नारायणकाजी श्रेष्ठलाई मानमर्दन गरेर आफैसँग राख्न चाहन्छन् । श्रेष्ठलाई प्रतिनिधिसभाको सदस्य बन्न नदिन सुरुदेखि नै प्रचण्डले चाल चल्दै आएका थिए । जहाँबाट टिकट दिँदा श्रेष्ठको पराजय हुन्छ सोही क्षेत्रबाट उम्मेदवार बनाउने काम प्रचण्डले गर्दै आएका थिए । र, यसअघिको संसदीय निर्वाचनमा गोरखाबाट पराजित गराउन प्रचण्डकै खास–खास मानिसहरू लागेका थिए । यसपटक श्रेष्ठलाई मर्यादाक्रममा तल पार्न प्रचण्डसमेतको साथ रहेको बुझिएको छ ।