प्रथम दन्तसामग्री व्यापार मेला शुक्रबारदेखि

प्रथम दन्तसामग्री व्यापार मेला शुक्रबारदेखि


नेपाल दन्त सामाग्री/वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा शुक्रबार (२२ पुष)देखि ललितपुरमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ ।

दन्त चिकित्सासँग सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको हो ।

नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले मेलाले अस्पताल, क्लिनिक, प्रयोगशाला तथा सम्पूर्ण पेसाकर्मीलाई गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार मेलामा नेपालसँगै विभिन्न देशका एक सय ब्राण्डका प्रतिनिधिको ७० कक्ष हुनेछ ।

यही पुस २२, २३ र २४ गते सञ्चालन हुने मेलामा दन्त चिकित्सको सम्मेलनसमेत हुनेछ । एसोसियसनका केन्द्रीय सदस्य हरि वलीले नेपालका १३ र विभिन्न देशका पाँच दन्तचिकित्सकका विशेष सोधपत्रलगायत शैक्षिक प्रस्तुति हुने र मेलामा देशभरबाट एक हजारभन्दा बढी चिकित्सक, विद्यार्थी तथा तीन हजार दन्त सामग्री वितरक सहभागी हुने जानकारी दिए।