मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल


photo: rss

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए ।

‘हामी केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ’, उनले भने, ‘सरकार गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने प्रक्रियामा हुनुहुन्छ ।’ सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उनलाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागकिर उन्मुक्ति पार्टी र केही स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ । यही पुस २६ गते सरकारले संसद्बाट विश्वासको मत लिने कार्यक्रम छ ।