संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारीबीच छलफल

संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारीबीच छलफल


नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् ।

देउवाको निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए । बैठकमा शनिबार दिउँसो बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ ।