ती मानिसहरूसँग जोगिनू !

ती मानिसहरूसँग जोगिनू !


– बलराम तिमल्सिना

ती मानिसहरूसँग
सँधैभरि जोगिएर बस्नु
जसले आफ्नो ईश्वरलाई
हामीलाई डर देखाउन
र हामीलाई लुट्नका लागि
हामीबाट लुकाएर राख्छन् ।
ती मानिसहरू सिधै बेइमान हुन्
जसले,
धन-सम्पति, सुविधा
मान-सम्मान र प्राधिकार
ईश्वरको नाममा हामीसँग माग्छन्
अनि,
हाम्रै आँखाअगाडि
ती सबै कुरा आफै उपयोग गर्छन् ।
ती मानिसहरू जल्लाद हुन्
जो, ईश्वरको आदेश हो भन्दै
आफ्ना विरोधीहरू,
फरक धर्म या विचार मान्नेहरू
फरक जाति या सभ्यताका मानिसहरू
फरक, भाषा, रङ्ग, या लिङ्गका मानिसलाई
घृणा गर्न सिकाउँछन्
हिंसा गर्न उक्साउँछन्
र जसका आदेशले
धरती हरेक दिन
रगतले नुहाउन विवश हुन्छ ।
ती मानिसहरू
सिधै जाली–फटाहा हुन्
(ती जुनसुकै ईश्वर मान्ने किन नहोउन्)
जसले कहिल्यै ईश्वरलाई भेटेका छैनन्
तर लाजै नमानी
हाम्रा मुखबाट
ईश्वर भएको कुरा गर्न बलजफती गर्छन् ।
ती मानिसहरू
संदिग्ध हुन्
जसले कहिल्यै स्वर्ग देखेका छैनन्
कहिल्यै नरक देखेका छैनन्
स्वर्ग या नर्क देख्नेसँग भेटेका पनि छैनन्
तर थरि-थरिका कहानी रचेर
ती हामीसँग स्वर्ग र नरकका कुरा गर्छन्
हामीलाई त्राही–त्राही पार्छन्
स्वर्गको आश
र नरकको त्रास देखाएर
बिना बन्दुक
बिना तरवार
बिना चक्कु
हाम्रो झिटीगुण्टा लुट्छन् !