सरकारको निर्णय पर्खंदै नागरिक उन्मुक्ति पार्टी
- मोहन जोशी, धनगढी
पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ ।
टीकापुर घटनाका विषयमा छानविन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देवीराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरीसहति नेता कार्यकर्ताको रिहाईको प्रक्रिया अघि बढाए मात्रै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने सो पार्टीको अडान छ ।
तर नागरिक उन्मुक्ति पार्टीले अघिसारेका मागका विषयमा अहिलेसम्म पनि हाल कायम रहेको सत्तारुढ गठबन्धनमा खासै छलफल नभएको सो पार्टीले जनाएको छ ।
‘प्रधानमन्त्री बनेपछि टीकापुर घटनाका विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका थियौँ,’ नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता लक्ष्मण चौधरीले भने, ‘तर हालसम्म त्यस विषयमा प्रधानमन्त्रीको कुनै आधिकारिक धारणा आएको छैन न त गठबन्धनका बीचमा यो विषय उठेको छ, यो विषय सम्बोधन नभइ हामी विश्वासको मत दिन सक्दैनौँ ।’
चुनावअघि कैलाली आएर प्रचण्डले टीकापुर घटनामा थारु निर्दोष रहेको भन्दै भाषण गरेको स्मरण गर्दै चौधरीले भने, ‘तर उहाँ प्रधानमन्त्री भएपछि टीकापुर घटनालाई राजीतिक रुपमा समाधान गर्न र जेलमा रहेका हाम्रा नेता कार्यकर्तालाई रिहाई गर्ने विषयमा सकारात्मक देखिएका छैन, २५ गते सम्म कुनै सहमति नभएको खण्डमा हामी विश्वासको मत दिने छैनौँ ।’
उनले प्रदेश सरकार निर्माणका विषयमा पनि २५ गतेपछि के गर्ने भन्ने टुङ्गो लाग्ने बताए । ‘हाम्रा मुद्धालाई सम्बोधन गर्ने लिखित सम्झौता भएको खण्डमा हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जानेछौँ,’ उनले भने, ‘केन्द्रमा समर्थन दिएपछि प्रदेशमा पनि त्यसैअनुसार अघि बढ्न सक्छौँ, तर केन्द्रमा विश्वासको मत दिने वातावरण नबनेको खण्डमा भने प्रदेशमा पनि हामी नयाँ तरिकाले अघि बढ्नेछौँ ।’
प्रतिक्रिया