पार्टी दर्ता भएको एक वर्ष पूरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ ।
पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ठ नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ ।
आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकापुर राजबन्दी माननीय रेशमलाई गल्ती गर्ने छुट छैन ।’
समाजिक सञ्जालमा लक्ष्मण चौधरीले उक्त अभिव्यक्ति पोष्ट गरेको केही समयमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिएकी छन् । उनले लक्ष्मण चौधरीलाई चेतावनीको शैलीमा लेखेकी छन्, ‘दुईरचार लाखमा बिकीहाल्ने जस्तो सोच्नुभयो ? आफ्नो पहिचानको लागि लडाइँ लडेर जेल पर्नुभएको माननीयज्यू अहिले पनि कारागारमै हुनुहुन्छ लक्ष्मणजी, स्मरण रहोस् ।’
सामाजिक सञ्जालमा नागरिक उन्मुक्तिका जिम्मेवार नेता आरोपप्रत्यारोपमा उत्रिएपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनुपर्ने सुझाव दिएका छन् । दुई नेताबीच आरोप प्रत्यारोप चलेपछि लक्ष्मण चौधरीको पोष्टमा प्रतिक्रिया जनाउँदै वीरेन्द्र चौधरीले लेखेका छन्, ‘पाँच सीटमा भाँडभैलो ।’
कतिपय शुभेच्छुकले भने आन्तरिक विवाद बाहिर नल्याउन सुझाव दिएका छन् । लक्ष्मणकै पोष्टमा सूर्य चौधरीले लेखेका छन्, ‘दाजु समाजिक सन्जालमा यसरी पोष्ट गर्नु कतिको जायज हो ?? हामी थारुमा यही त कमजोरी छ, पहाडीको तलुवा चाट्न खोज्छौँ अनि आफ्नो घरझगडा अरुसामु ससुम्पन्छौँ ।’
नागरिक उन्मुक्ति पार्टीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा आन्तरिक विवाद चुलिएको पाइएको छ । लक्ष्मण चौधरीले सोही विवादलाई सामाजिक सञ्जालमा पोखेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा एक जनामात्रै निर्णायक रहेको र निर्णय गर्दा अरुसँग छलफलनै नगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।
प्रतिक्रिया