पूर्व श्री ५ ज्ञानेन्द्र शाहले छिन्नभिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिङ्गो र सवल आकार दिने बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय रहनुभएको बताउनुुभएको छ । ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको आजको समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको उल्लेख गर्नुभएको छ ।
पूर्व श्री ५ को सन्देशमा भनिएको छ- ‘हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरूलाई आत्मसात गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुशरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौँ ।’
सन्देशमा अगाडि भनिएको छ- ‘वर्तमान अवस्थामा हामी धेरै नै पराइमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौँ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रानिम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ– देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा आघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा हाम्रो राजनीति आलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।’
‘राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पूरा गर्न शाहवंशीय राजसंस्था कहिल्यै चुकेको छैन । हरेकका आ-आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ । जय नेपाल !’
प्रतिक्रिया