प्रचण्डले आफू प्रधानमन्त्री बन्न केपी शर्मा ओलीका हरेक शर्त मन्जुर गरेको भएपनि माओवादी केन्द्रका अधिकाङ्श नेताहरू केपीसँगको सहकार्यको पक्षमा नरहेको पाइएको छ । गत शनिबार सम्पन्न माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकमा अधिकाङ्श सहभागीले केपीसँग अगाडि जान नसकिने धारणा राखे । उनीहरूको भनाइ थियो- ‘राष्ट्रपति र सभामुख पद हातपार्न मात्र केपीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेका हुन्, त्यसपछि केपीले अप्ठ्यारो पार्नेछन् ।’
बैठकमा केहीले एमालेसँग जान नसकिने भन्दै काङ्ग्रेससँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । केपीले जे-जे भन्छन् त्यही मान्दै जाने प्रचण्डको कार्यशैलीको बैठकमा आलोचना भएको थियो ।
राष्ट्रपति, सभामुख, अख्तियार प्रमुख, सर्वोच्च अदालतका प्रमुख र निर्वाचन आयोगका प्रमुखसमेत एमालेको भएको स्थितिमा निकै जटिल अवस्था पैदा हुनसक्ने निष्कर्ष पनि बैठकले निकालेको छ । विश्वासको मत लिनुअघि नै प्रदेशका मुख्यमन्त्री टुङ्गो लगाउनुले प्रचण्डप्रति केपी विश्वस्त नरहेको देखाउँछ र यस विषयमा पनि बैठकमा चर्चा भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुनै ठोस धारणा प्रकट नगरेको महसूस सहभागीहरूले गरेका थिए । केपीप्रति प्रचण्डको आशक्ति न्यून गर्न पदाधिकारीहरूले प्रचण्डलाई सुझाव दिएको पनि बुझिएको छ ।
प्रतिक्रिया