रेखाद्वारा उपराष्ट्रपति पद अस्वीकार

रेखाद्वारा उपराष्ट्रपति पद अस्वीकार


शङ्करलाई प्रतिनिधिसभा सदस्य बनाउने योजना असफल !

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शङ्कर पोखरेलको अभाव कतिसम्म खट्किएको रहेछ भन्ने कुराको खुलासा अहिले भएको छ । केपीले निकै मनपराएका पोखरेल दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट गत निर्वाचनमा गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए । २०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा पोखरेललाई संसद्को उम्मेदवार नबनाएर प्रदेशको बनाइनु गल्ती भएको बुझाइ केपीको थियो । उनलाई प्रदेशमा सीमित गर्नुहुन्नथ्यो भन्ने बुझाइ भएकोले नै यसपटक संसदीय निर्वाचनमा उम्मेदवार बनाइएको थियो । तर पोखरेलले चुनाव जित्न सकेनन् । उनको पराजयले केपीलाई निकै धक्का पुऱ्याएको महसूस त्यतिबेला नै गरिएको थियो ।

माओवादीसँग सत्ता गठबन्धन भइसकेपछि केपीले शङ्करलाई प्रतिनिधिसभामा प्रवेश गराउने उपाय निकाले । शङ्करलाई परास्त गर्ने माओवादी नेतृ रेखा शर्मालाई उपराष्ट्रपति बनाइदिने र रेखाको रिक्त स्थानमा उपनिर्वाचन गराइ शङ्करलाई जिताएर ल्याउने मानसिकता केपीले बनाएका थिए । उनले आफ्नो योजना प्रचण्डलाई सुनाएर रेखालाई राजी गराइदिन आग्रह गरे र, प्रचण्डले पनि केपीको इच्छाअनुसार रेखालाई सम्झाए । तर रेखाले प्रचण्डको प्रस्तावमा सहमति जनाइनन् । उनले भनिन्- ‘मेरो सक्रिय राजनीतिक जीवन अझै बाँकी छ, म दाङका मतदातालाई धोखा हुने काम गर्दिनँ । दाङबासी जनताले मसँग ठूलो अपेक्षा राखेका छन् । म उपराष्ट्रपति बन्न चाहन्नँ ।’ रेखाको यस्तो कुरा सुनेर प्रचण्डले उनीमाथि थप दबाब दिन सकेनन् । तर केपी ओलीले भने सो प्रस्तावमा सहमति जनाउन रेखालाई धेरै मिठोसँग दबाब दिएका थिए । तपाईं एक साहसी नारी, तपाईंले युद्धकालमा भोग्नुपरेको पीडा र सङ्घर्षको उच्च मूल्याङ्कन गर्नुपर्ने छ । तपाईंले उपराष्ट्रपतिको जिम्मेवारी लिइदिनु पऱ्यो ।’

केपीको त्यस्तो प्रस्ताव सुनेपछि रेखाले जवाफमा भनिन् ‘तपाईंले मप्रति दर्शाउनुभएको सद्भावका निम्ति धन्यवाद, तर मेरो त्यत्रो हैसियत भएकै छैन । मन्त्री/प्रधानमन्त्री भन्दापनि माथिको दर्जामा काम गर्ने बेला भएको छैन, म सामान्य मानिस हुँ, त्यति ठूलो जिम्मेवारी लिन चाहन्नँ ।’ यसरी शालिनतापूर्वक केपीको प्रस्ताव अस्वीकार गरेपछि केपीले थप करकाप गर्न खोजेनन्, तर उनले निकै नमिठो मानेका थिए । रेखाले उपराष्ट्रपति पद स्वीकार गरिदिएको भए उनको रिक्त स्थानमा उपनिर्वाचन गराइ शङ्कर पोखरेललाई प्रतिनिधिसभामा प्रवेश गराउन सहज हुनेथियो । अब कसरी केपीले शङ्करका निम्ति ठाउँ बनाउने हुन जिज्ञासा र प्रतीक्षाको विषय बनेको छ ।