काङ्ग्रेस खेलमैदान तयार गर्दै : सबैलाई चकित पार्दै प्रचण्डलाई विश्वासको मत !

काङ्ग्रेस खेलमैदान तयार गर्दै : सबैलाई चकित पार्दै प्रचण्डलाई विश्वासको मत !


कदाचित सभामुखमा एमालेका उम्मेदवारलाई जिताइएछ भनेपनि राष्ट्रपति पद एमालेको हातमा पर्न निकै मुस्किल देखिन्छ । काङ्ग्रेसको विश्वासको मतकै कारण माओवादी र एमालेबीच आशङ्का र अविश्वासको दूरी बढ्ने अवस्था पैदा भएको छ ।

प्रचण्डबाट धोका भएपछि बिलखबन्दमा परेको काङ्ग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली राजनीतिमा रोचक तरङ्ग पैदा भएको छ । राजनीतिमा जतिबेला जे पनि हुन सक्छ र नचाहेको निर्णय लिन पनि बाध्य हुनुपर्छ भन्ने सन्देश यस घटनाले दिएको छ । विश्वासको मत दिनुअगाडिदेखि नै प्रचण्डलाई विश्वासको मत मिल्न मुस्किल हुने हल्ला चलाइएको थियो । कतिपय ब्यक्ती र शक्ति काङ्ग्रेस र केपीबीच समझदारी बनाएर अर्कै परिस्थिति निर्माण गर्ने चक्करमा पनि लागेका थिए । काङ्ग्रेसभित्र पनि धेरैको मन र मत एमालेसँग मिलेर प्रचण्डसँग बदला लिने भन्ने नै थियो । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू जो अप्रत्याशित रूपमा भएको बामपन्थी गठबन्धनबाट दुःखी बनेका थिए, उनीहरू पनि विश्वासको मत प्राप्त गर्न नसकेर प्रचण्डको हातबाट सत्ता गुमेको हेर्न चाहन्थे । तर अन्ततः अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले पनि सोच बदलेको बुझिन्छ । उनिहरू पनि प्रचण्डकै पक्षमा उभिनुपर्ने बाध्यतामा परेको बताइन्छ ।

काङ्ग्रेसले विश्वासको मत दिएपछि उसलाई भोलिको राजनीतिमा आफ्नो ‘स्पेस’ बनाउनका निम्ति खेल्ने मैदान तयार भएको छ । प्रचण्डलाई प्रधानमन्त्री दिएर केपी ओलीले जसरी आफ्नो भूमिका बढाए, त्यसैगरी काङ्ग्रेसले पनि माओवादीसँग मिलेर नयाँ र भिन्न अवस्था सिर्जना गर्ने अधारभूमि खडा गरेको छ । अब एमालेसँग मात्र सहमति बनाएर काङ्ग्रेसलाई पूर्ण उपेक्षा गर्न नैतिक रूपले अप्ठ्यारो हुने अवस्था बनेको छ । यस घटनाले एमालेको बार्गेनिङ पावर स्वात्तै घटाएको छ र, माओवादीको मनोबल बढाएको छ । केपी ओलीले जे भन्छन प्रचण्डले त्यही गर्दै जानुपर्ने अवस्था अब नरहने देखिन्छ । काङ्ग्रेसको पछिल्लो निर्णयले एमाले र माओवादीबीच पुनः एकीकरण हुने सम्भावनालाई पनि न्यून तुल्याइदिएको छ ।

काङ्ग्रेसबाट समेत विश्वासको मत मिल्नुअघि प्रचण्ड ‘केपीले जे–जे भन्छन् त्यही गर्दै जाने’ मानसिकतामा थिए । आफूले प्रधानमन्त्री पद पाएपछि प्रचण्डले राष्ट्रपति र सभामुख पद एमालेलाई सुम्पने वचन दिएका थिए ।

काङ्ग्रेस र माओवादीबीच चुँडिएको धागो जोड्न प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले केही ब्यक्तिहरू लागिपरेका थिए । राजनीतिक नेताहरूमध्ये माधवकुमार नेपाल र जनार्दन शर्माहरूको भूमिका विशेष मानिन्छ । प्रचण्डलाई काङ्ग्रेसबाट विश्वासको मत दिलाएर भिन्न परिस्थिति निर्माण गर्नुपर्छ भन्ने उनीहरूको भनाइ थियो । काङ्ग्रेसभित्र पनि डा. प्रकाशशरण महत र शङ्कर भण्डारीलगायतका नेताहरू प्रचण्डलाई विश्वासको मत दिएर नयाँ वातावरण बनाउने अभियानमा सक्रियतापूर्वक लागिपरेका थिए । काङ्ग्रेसबाट समेत विश्वासको मत मिल्नुअघि प्रचण्ड ‘केपीले जे-जे भन्छन् त्यही गर्दै जाने’ मानसिकतामा थिए । आफूले प्रधानमन्त्री पद पाएपछि प्रचण्डले राष्ट्रपति र सभामुख पद एमालेलाई सुम्पने वचन दिएका थिए । आखिर केपीले चाहेको त्यही थियो, राष्ट्रपति र सभामुख पद हात पारेपछि मात्र धेरै गर्न सकिन्छ भन्ने बुझाइ केपीको थियो र छ । यिनै दुई पद हात पार्नकै निम्ति मात्र केपी प्रचण्डलाई प्रधानमन्त्री पद दिन राजी भएका थिए ।

हो, काङ्ग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिनुको मूल कारण पनि ती दुवै पद एमालेको हातमा नजाओस् भनेर नै हो । तर प्रचण्डले केपीलाई राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिने वचन दिइसकेका छन्, आफूले दिएको वचन तोडेर केपीलाई धोका दिने कार्य यति चाँडै प्रचण्डबाट नहोला भन्ने ठानिएको छ । तर पार्टीभित्रको असहमति र काङ्ग्रेसको विश्वासको मतका कारण उक्त दुवै पद एमालेमा जान नसक्ने हो कि भन्ने आशङ्का भने बढेको छ । माघ ७ गते सभामुख पदको निर्वाचन गर्न मिति तोकिएको छ । त्यसैदिन सत्ता-गठबन्धनका कतिपय सांसदले ‘फ्लोर क्रस’ गरे भने कुनै आश्चर्य हुनेछैन । कदाचित सभामुखमा एमालेका उम्मेदवारलाई जिताइएछ भनेपनि राष्ट्रपति पद एमालेको हातमा पर्न निकै मुस्किल देखिन्छ । काङ्ग्रेसको विश्वासको मतकै कारण माओवादी र एमालेबीच आशङ्का र अविश्वासको दूरी बढ्ने अवस्था पैदा भएको छ ।