धरासायी हुँदै चाडपर्वीय परम्परा : यसरी मनाइन्थ्यो माघे सग्राँती

धरासायी हुँदै चाडपर्वीय परम्परा : यसरी मनाइन्थ्यो माघे सग्राँती


वास्तवमा पुस-माघको जाडोमा चिसिएको शरीरलाई तातो बनाउने परिकारहरूको उपभोग गर्ने हाम्रो साँस्कृतिक परम्पराको धरोहर धरासायी हुँदै गैरहेको देखिन्छ, यो व्यहोरा अन्यान्य चाडवाडहरूमा पनि लागू भइरहेको पाइन्छ ।

तिलक पौडेल

‘पुसको पन्ध्र लमाए, माघको पन्ध्र घमाए’ भन्नुहुन्थ्यो बुबाले । हो जस्तो पनि लाग्दथ्यो, माघको अन्तिमताकातिरबाट जाडो घटेको जस्तो लाग्दथ्यो । त्यस्तै, खुदो र दुधमा भिजाएका चिउरा तरुलको छेउमा डाडुले पस्कँदै आमाले ‘लौ ! अर्को वर्ष मान्न पाइने होकि हैन, यो वर्षका सबै चाडहरू अब सकिए भन्दा हुन्च…!’ भन्नुहुन्थ्यो बुबातिर फर्केर । मैले जिज्ञासा राख्दथेँ- ‘किन र आमा ?’ बुबाले सबैलाई खाने इसारा गर्दै ‘साउने सग्राँती बाँचियो भनेर मनाउने र माघे सग्राँती अब मरिने पो हो कि ! भनेर मनाउने चलन पुर्खादेखि चलिआ’को भन्चन् केरे !’ भन्नुहुन्थ्यो । ‘हुन पनि हो के ! अब गर्मी लाए’सि हैजा आउँच, काँचो-कचिलो खान हुन्न उँधै–उँभै हुन्च, पखाला चल्च, माई हुन्च, दादुरा-ठेउला हुन्चन् । चैताँ त्यो घाम्मा धुलोसँगै मकै छर्दा, पछि गोड्दा, गहुँ छर्दा, सबै बाली थन्क्याउँदा, खेत रोप्दा कति चापाचाप हुन्च, निरोगालाई पनि रोगाहा बनाउने बेला आयो अब त … !’ आमाले खाँदै-खाँदै व्याख्या गर्नुहुन्थ्यो । भाइ, बैनी, म आश्चर्यबोधक भावमा ध्यानपूर्वक सुन्थ्यौँ ।

वास्तवमा गर्मी मौसमभन्दा ठण्डी मौसम निरोगी जस्तै लाग्दछ । हुनेखानेलाई त के छ र ? न्यानो कपडा लगायो, उच्चकोटीका मदिरापान गरेर ज्यान भित्रैदेखि ततायो, एयर कण्डिसनवाला गाडीमा आवत–जावत गर्यो, घरमा पनि एसीदेखि बेड हिटरसम्मको उपयोगले सर्वत्र तातो गराउनेहरूलाई त निःसन्देह ठण्डी मौसम– जे खाएपनि पच्ने, उपयुक्त मौसम हो नै । तर हुँदाखानेहरूका लागि भने शीतलहर भन्दा लु लाग्नु ठीक जस्तो लाग्छ । किनभने बढी गर्मी भयो भने बरु सितलमा बसे भयो तर चीसोमा त के गर्नु र ? प्लाष्टिक बाल्यो भने क्यान्सर लाग्ने ग्याँस उत्सर्जन हुन्छ भनिएपनि टायरसमेत बालेर शरीरको अगाडिको भाग तताउन विवश हुन्छन्, रपनि पछाडिको भाग त चिसै हुन्छ, सुत्ने बेलामा न्यानो ओड्ने हुँदैन, दिनमा शरीर ढाक्ने तातो कपडा हुँदैन । यसरी भन्दा धनीहरूलाई ठण्डी र गरिबहरूलाई गर्मी मौसम उपयुक्त देखिन्छ पनि ।

तिनताका हरेक घरपरिवारले आफ्नो जीवन गुजारा गर्न आवश्यक सबै खेतीबाली लगाउने गरिन्थ्यो । खाद्यान्न बालीको अलावा तेलको खाँचो टार्न तोरी खेती गरिन्थ्यो, माघे सग्राँतीका चिउरालाई गुलियो पार्ने खुदोको लागि बारीको एकछेउमा उखुखेती गरिएको हुन्थ्यो । पूजाआजाका लागि जौतिलानीका लागि तील, ज्योतिका लागि कपास, कुशसमेत घर-घरमा उपलब्ध हुन्थ्यो । बेसार, अदुवा, तरुल, आलु, सखरखण्ड, काफल, किमकाफल (किमु), निउवा, सुन्तला, कागती, नास्पती, आरू, आलुबखडा, आँप, बेलौती, ज्यामिर, केरा जस्ता फलफूलदेखि कन्दमूलसम्मको खेती हामीकहाँ पनि हुने गरेको सम्झना अझैसम्म ताजै छ ।

हामीहरू स्कुले केटाकेटीहरू थियौँ । पुसको अन्तिम हप्तामा सबैका उखुबारीमा उखु काट्ने चटारो हुन्थ्यो । गाउँमा एउटा काठे कोल थियो । त्यसमा उखु पेल्न सबैले आफ्नो पालो लगाएका हुन्थे । हामीहरू स्कुलबाट घर फर्कंदा उखु काटेका ठाउँमा जान्थ्यौँ । सबैलाई एकुन्टा गिँडहरू दिइन्थ्यो । दुवैतिर आँख्ला परेमा साटिदिन भनेर बीचमा मात्र आँख्लो भएको लिएर उखु चुस्दै घर पुगिन्थ्यो ।

माघे सग्राँती आउन २–३ दिन बाँकी रहेपछि उखु पेल्ने चापाचाप हुन्थ्यो । हामी त्यहीँ पुगेर खोया (उखुका गिँड पेलेर फलिएका अवशेष)लाई पनि चुस्ने गर्थ्यौं । उखुको रस पकाउँदै गरेका रसेटोमा ती खोया लिएर गएपछि बुबा-आमाहरूले ‘खै ले त एउटा चोखो खोयो’ भन्दै मागेर तातो पाक्दै गरेको खुदोमा चोपेर दिनुहुन्थ्यो । पुसको जाडोमा जाँघे-कमेजको पोशाकमा हुने हामीहरूलाई त्यो तातो खुदोमा चोपिएको खोयो चुस्दाको आनन्द वास्तवमै वर्णानातीत हुन्थ्यो ।

अर्कोतर्फ, घर पुग्दा बुबाले दुधिलाको बोटमा झ्याँगिएको तरुल खन्दै हुनुहुन्थ्यो । काठको बीँड भएको खन्तीले तरुललाई जोगाई-जोगाई खनेर झण्डै हामी जती अग्लो तरुल निकाल्नुहुन्थ्यो । हामी रमाएर ताली बजाएर हर्ष प्रकट गर्दथ्यौँ । बुबाले फेरि चुलेत्राको बुटामुनिको फोहोटामा लगाएको सखरखण्ड कोदालोले उप्काउनुहुन्थ्यो । लाम्चा आलु जस्ता देखिने सखरखण्ड झुक्किएर काटिन पुगेमा ‘लौ पखालेर खाओ’ भनेर हामीलाई दिनुहुन्थ्यो । हामी खुसीले उफ्रँदै पानीले पखालेर काँचै खान्थ्यौँ, जुन पनि गुलियो आलु जस्तो मीठो लाग्दथ्यो । आमाले दाउरा खोज्न वन गएर फर्कंदा सखरखण्ड भन्दा अलि ठूला फिका कलेजी रङका वनतरुल पनि ल्याएर ‘सग्राँतीका दिन खाने’ भनेर थन्क्याउनुहुन्थ्यो । हामीलाई ‘सग्राँती कहिले होला ?’ भन्ने आतुरी लाग्दथ्यो ।

पुसे मसान्तको दिन प्रायः सबै घरहरूमा चिउरा कुट्ने काम हुने हुँदा गाउँको पुछ्रारदेखि नै चिउराको एक प्रकारको सुगन्ध फैलिएको हुन्थ्यो । घरमा पुगेर झोला पनि नथन्क्याइ ढिकीतिर गइन्थ्यो । मुन्तिर आमाले तामाको ताउलामा भिजाइएका धान ठूलो खोत्तिया (हाँडी) मा भुटिरहेकी हुनुहुन्थ्यो । पल्तिर आमाले ढिकी कुटिराख्नुहुन्थ्यो । हाम्री आमाले फलामे दाँती नभएको मुसलले कुटिएका चिउरा लाउँदै तयार भएपछि सिलोटको ठूलो थालमा यसो निफनिटोपलेर डालोमा हाल्नुहुन्थ्यो । कति चिउराहरू ठूलै लट्टा बन्दथे, त्यसलाई फोरेर बँचेको हामीलाई खान दिनुहुन्थ्यो । सद्दे चिउरा खान नपाएपनि भोक लागेको बेलामा त्यो चिउराको लट्टो पनि साह्रै मीठो हुन्थ्यो । आमाहरूले भरदिनमा सबैका चिउरा कुट्ने काम सकाउनुहुन्थ्यो ।

माघे सग्राँतीका दिन बिहान हामी उठ्दा तरुलहरू, सखरखण्ड उसिनेर तयार पारिएको हुन्थ्यो । चिउरालाई नाङ्लोमा निफनेर बियाँ हटाइ राम्रा बनाएर दुध र खुदो मिलाएर भिजाइएको हुन्थ्यो । आमाले ‘लौ सबै ग’र भर्कुन्ना (भरिकुण्ड) को धारामा गएर नुहाओ, त्यहाँको पानी तातो हुन्च … !’ भनेअनुसार स्कुलबाट पुरस्कारमा पाएको लक्स साबुनले सबै जना मिलेर फिँजैफिज बनाएर नुहाइन्थ्यो । घर आउँदा आमाले तोरीको तेलमा मेथी पड्काएर तताइ बटुकामा राखिदिनुभएको हुन्थ्यो । तेल लाएर घाममा बस्दा साँच्चै नुहाउँदाको जाडो भाग्दथ्यो । त्यसपछि भिजाएका चिउरा, उसिनेका सखरखण्ड, तरुल खुदोसँग घाममा बसेर खाइन्थ्यो । यसरी तिनताकाको माघे सग्राँती मनाइन्थ्यो । माघका चिउरा असारे पन्ध्रमा खाने भनेर केही चिउरा आमाले नबिग्रने गरी थान्को लगाउनुहुन्थ्यो । हामीले पनि त्यसरी राखिएका चिउराको दुरुपयोग गरिन्नथ्यो – संस्कारी धरोहरप्रतिको अबोध समर्थन र स्वीकृति !

संयोग एकपटक, हाम्रो हजुरबुबाले पनि पर्सीपल्ट माघे सग्राँती पर्दाका दिन आफ्ना उखुहरू काटेर कोलमा पेल्न उपयुक्त गिँडहरू बनाएर थुमगाउँमा कोल माग्न जानुभएछ ! माघे सग्राँतीमा चिउरा तरुल खाने र चिउरा खुदो र दुधमा भिजाएर खाने प्रचलनअनुसार परम्परा धान्न त्यसो गर्नुभएको रहेछ । कोलधनीबाट ‘कोल त २ गतेसम्मलाई उठिसक्यो, अब ३ गते ल्याएर पेल्नुपर्ला … !’ भन्ने उत्तर पाउनुभएछ । अनि त्यतैबाट जङ्गल (चुलीमुनि) तिर गएर एउटा रुख ढालेर आह्री, बियो, कात्री, ढिकुवा, बाहाँलगायतका कोलका सारा सामान बनाएर एकैभारीमा बोकेर ल्याउनुभएछ । यसले उहाँ बलवान् भएको प्रमाणित गराउने नै भयो ।

तिनताका बाइसे राजा-रजौटाहरूले बेला-बेलामा आफूले पालेका पहलमानसँग सर्वसाधारणलाई लडाउने, कुस्ती खेलाउने गर्दथे रे ! त्यसवर्ष आरूखर्के राजाले सतौँकोटे राजालाई हाम्रा हजुरबुबाको हुलिया दिँदै उनका पहलमानसँग चैतेदसैँका दिन भिडाउने प्रस्ताव गरेछन् । सोहीबमोजिम आरूखर्के दरबारको प्राङ्गणमा टनाटन दर्शकहरूका माझ हजुरबुबा र आरूखर्के राजाको पहलमानबीच भिडन्त भएछ । हजुरबुबा हात पट्याएर उभिइ पहलमान जताजता जान्छ उतैतिर घुम्नु हुँदोरहेछ । पहलमानले पनि बुढाको टाँगमुनि छिरेर लडाउने सोचले जोखना हेरी हजुरबुबाको वरिपरि घुम्दै उपयुक्त जँचेको समयमा टाँगमुनि छिरेछ । बुढाले दुवै घुँडा जोड्दा पहलमानको पेटको भाग थिचिन पुग्दा दिसै निकालेर छट्पटिन लागेछ । त्यो देखेर आरूखर्के राजाले ‘छाड्देऊ बाजे ! तिमीले जित्यौ, मागेको बक्सिस पाउनेछौ’ भनेछन् । तब, हजुरबुबाले पट्याएका हात फुकाएर कर जोड्दै ‘महाराज ! मैले के नै गरेको छु र सरकार !?’ भन्दै छाडिदिनु भएछ । त्यसपछि पुरस्कारको मागमा ‘बस्यारी’को खर्क मागी प्राप्त गर्नुभएछ । अचेलका हामी नातिहरूले ‘यसो पूर्वतिर फर्केर हेर्दा देखिने पोखराको बिरौटा मागेको भए !’ भनेझैँ लागेपनि वहाँका लागि तिनताका दश-बिसोटा भैँसी पाल्ने खर्क आवश्यक महसूस हुँदा त्यही नै माग्नु स्वभाविकै थियो । जुन पछिसम्म हामीले नै उपभोग गरिएको थियो । यस्तो सन्दर्भ पनि समेटिएको व्यहोरा बुबाले हरेक वर्षका माघे सग्राँतीमा विगतको स्मरण गर्दै हामीलाई जानकारी गराउनुहुन्थ्यो ।

अहिले त शहरीया भैएको छ । गाउँमा बानरको आतङ्क फैलिएको छ । बुढाबुढी भएका आमा-बुबाहरूले गाउँ कुर्नुभएको छ । हामी नै बाउआमाबाट ममीडेडी बन्दै आमाबाबा उर्फ जीबाज्यामै भैसकेका छौँ । छोराछोरी शहरबाट पनि बाहिरिएर विदेशी जस्ता भएका छन् । भाइवर, म्यासेञ्जरादिका माध्यमबाट हेराहेर गरेर बातचित हुने गर्दछ । कतिपय त हामीकहाँ दिन हुँदा रात पर्ने मुलुकमा छन् । ‘माघे सग्राँती आयो, चिउरा-तरुल खानुपर्छ, यसो वालमार्टतिरबाट ल्याएर खाओ’ भन्ने हाम्रा भनाइलाई ‘कहाँको फुर्सद हुनु, चिउरा-तरुल खोज्ने !’ भनेर व्यस्तता दर्शाउँछन् । हामी भने तिलका लड्डु, घिउ, चाखु, तरुल, सखरखण्ड, सेल रोटी, दुधमा खुदो मिसाएर भिजाइएका ताइचीन चिउरा खाएर माघे सग्राँती मनाइरहेका छौँ- बुढाबुढी मिलेर । वास्तवमा पुस-माघको जाडोमा चिसिएको शरीरलाई तातो बनाउने परिकारहरूको उपभोग गर्ने हाम्रो साँस्कृतिक परम्पराको धरोहर धरासायी हुँदै गैरहेको देखिन्छ, यो व्यहोरा अन्यान्य चाडवाडहरूमा पनि लागू भइरहेको पाइन्छ ।

(विगतको स्याङ्जा, चिलाउनेवा र वर्तमानको काठमाडौंमा आधारित)