राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल


आफ्नो चरमोत्कर्षको समयबाट पञ्चायती व्यवस्था गुज्रिरहेको थियो । एकथरी मान्छेहरू थिए- व्यवस्था ठीक भएन, परिवर्तन ल्याउनुपर्‍यो भन्दै आन्दोलित, र अर्काथरी यस्ता पनि थिए जो दरबार खुसी पारेर कसरी व्यक्तिगत लाभ लिने भन्नेमै अहोरात्र चिन्तन गर्दै आयु छोट्याउँथे । तर, नेपालआमाको काखमा यस्ता सन्तानहरू पनि सल्बलाइरहेकै थिए जसलाई व्यक्तिगत फाइदाका कुराले छुँदैनथ्यो, आफ्नो देशलाई कसरी समयानुकूल सुख-समृद्धिको बाटोबाट हिँडाउन सकिन्छ भन्ने ध्येय नै त्यस्ता व्यक्तिभित्र हरदम जागृत भइरहन्थ्यो । यस्तै सीमित नेपालीमध्येका एक बेलप्रसाद श्रेष्ठ एकदिन छक्क पर्नुभयो, जब तत्कालीन राजा वीरेन्द्र बिना कुनै सूचना एक्कासि धुलिखेलस्थित होटल हिमालयन होराइजन -सन एन्ड स्नो) परिसरमा प्रकट हुन पुगे । देश-विदेशको चालचलन र समयको गति केही सीमासम्म बुझिसकेपछि आफ्नै परिवेशमा रमाउने अभिलाषाका साथ समाजसेवा र निजी होटल व्यवसायमा रमाइरहनुभएका बेलप्रसादका निम्ति त्यो क्षण के गरौँ कसो गरौँ भनेझैँ भयो । तत्कालीन धुलिखेल नगरपञ्चायतका प्रमुखमा उहाँ चुनिनुभएको तीन महिना मात्र भएको थियो । राजा भएर पनि सर्वसाधारण व्यक्तिझैँ किन त्यसरी प्रकट भएका होलान् भन्ने जिज्ञासा त्यत्तिकै जागृत भए । तर, त्यस्ता सवालहरूसँग रुमलिइरहने समय थिएन त्यो । राष्ट्रप्रमुखका रूपमा मुलुकले मानेका व्यक्ति साक्षात् सामुन्ने प्रकट थिए, अब जो सकेको आतिथ्यता प्रदान गर्नैपर्ने कर्तव्य जो खडा भइसकेको थियो ।
धुलिखेलका गन्यमान्यमध्येका प्रमुख एकको हैसियत बनाइसकेका बेलप्रसादले त्यसअघि कहिल्यै राजपरिवारका कुनै सदस्यसँग भेट्ने अवसर पाएका थिएनन् न त परिवारका कसैले त्यस्तो अनुभव संगालेका नै थिए । आफू परियो एक सर्वसाधारण नेपाली, नेपालका सर्वोच्च कहलिएका यी ‘अभिजात्य’सँग अब कसरी व्यवहार गर्ने ? यस्तै प्रश्न उब्जियो बेलप्रसाद श्रेष्ठको मनमा । तर, परिस्थितिलाई सहज तुल्याइदिए राजा वीरेन्द्रले नै, उनी होटलको आँगनछेउमा रहेको काठको एक पुरानो कुर्सी गएर थचक्कै बसिदिए । राजाका एडीसी र अर्का एक सहयोगी नजिकै उभिए । होटलका ग्राहकहरूका निम्ति जुन चिया बन्ने गथ्र्यो त्यही चियाद्वारा राजा वीरेन्द्रको स्वागत गरियो । उनले त्यसलाई त्यत्तिकै आत्मीयताका साथ ग्रहण गरे । बेलप्रसाद छक्क पर्नुभयो, सँगसँगै राजा वीरेन्द्रप्रति श्रद्धाभाव पनि उत्तिकै उम्लिएर आयो उहाँको हृदयमा । राजा त कस्ता अनौठा र सरल रहेछन् भन्ने लाग्यो बेलप्रसादलाई । ०४४ सालको प्रसङ्ग थियो यो ।
कम सरल र अनौठा व्यक्ति हुनुहुन्न बेलप्रसाद श्रेष्ठ पनि । पिता मोहनप्रसाद र माता रामदेवीको कोखबाट वि.सं. १९९७ मा धुलिखेलको पिछडिएको परिवेशमा जन्मिएर पनि सानै उमेरदेखि बेग्लै केही गरूँ भन्ने भावनाबाट ओतप्रोत हुनुहुन्थ्यो बेलप्रसाद । घरमा पालिएका भैंसी र भेडाका गोठालो बनेर सुरु भएको थियो उहाँको बाल्यकाल । ०६ सालमा आफ्नै बाजेहरूले धुलिखेलमा स्कुल स्थापना गरेपछि एक विद्यार्थीका रूपमा परिवर्तन हुनपुग्यो उहाँको दैनिकी । परिवारकै प्रथम विद्यार्थी बेलप्रसादलाई पढ्नभन्दा धुलिखेलका मन्दिरहरू र तिनमा कुँदिएका कलाकौशलहरूबारेमा जान्न मन लाग्थ्यो । त्यति ठूला मन्दिरहरू कसले कसरी बनाए होलान्, राम्रा-राम्रा मूरि्तहरू कसले कुँदे होलान्, एउटै ढुङ्गाको कति अग्लो स्तम्भ र त्यसमाथि जोडिएको सिंहको सुन्दर मूरि्त कसले कसरी बनायो होला ? यस्ता जिज्ञासा सानै उमेरदेखि लहरझैं उठे उहाँका मनमा । बुबा-बाजेहरूलाई कसले बनाए होलान् यस्ता मन्दिर र मूरि्तहरू भनी सोध्दा ‘धुलिखेलकै मान्छेहरूले बनाए नि, अरू कसले बनाइदिन्छ -‘ भन्ने जवाफ पाउँदा झनै चकित बन्न पुग्नुहुन्थ्यो उहाँ । यस्तैयस्तैमा धुलिखेलमै कक्षा नौसम्मको अध्ययन सकी काठमाडौं झरेर जेपी स्कुलबाट ०१४ सालमा एसएलसी पास गर्नुभयो बेलप्रसादले ।
धुलिखेलको परिवेशमा त्यतिबेला एसएलसी पास गर्नु चानेचुने कुरा ठहरिँदैनथ्यो । एसएलसी पास गरेलगत्तै परिवारबाट ‘मास्टर साव’ बन्नका लागि जोड दिन थालियो बेलप्रसादलाई । आफूलाई क ख सिकाउने मास्टरजी दलानकाजी उर्फप्रेमबहादुर राजवंशीलाई टोलसमाजका सबैले प्रदान गर्ने मानमनितोप्रति सानैदेखि लोभिनुभएका बेलप्रसादले त्यस्तै सम्मान मिल्ने सम्झेर स्वीकार गर्नुभयो र सुरु भयो उहाँको मास्टरी पेसा । तर, मुस्किलले पाँच-छ महिना मात्र बितेको थियो, धपेडीले मरिएला भन्ने सोचेर छोड्नुभयो उहाँले त्यो काम । त्यसपछि बुबाले ‘व्यापार गर’ भनी दबाब दिन थालेछन् । उहाँका काकाहरूलगायत आफन्तहरू व्यापारको सिलसिलामा भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुर, धनकुटालगायतका स्थानमा पुगेका थिए । बेलप्रसादलाई पनि ओखलढुङ्गा पठाउन लागे उहाँका बुबाले । अर्कै स्वभावका बेलप्रसाद व्यापारका निम्ति फिटिक्कै तयार हुनुभएन । बरु उहाँले पढाइ अघि बढाउने सोच बनाउनुभयो र आफ्नै प्रयत्नले उहाँ तत्कालीन ‘इञ्जिनियरिङ स्कुल’मा भर्ना हुनुभयो । रानीपोखरीछेउमा त्रिचन्द्र क्याम्पसपरिसरमै रहेको उक्त शिक्षालयमा भर्ना भएको अढाइ वर्षमा उहाँ ओभरसियर पास गरेर निस्कनुभयो । ओभरसियर बनेपछि पनि उहाँ द्विविधामै हुनुहुन्थ्यो- अब अगाडि के गर्ने ? परिवारबाट कपडा पसल गर्न सुझाव आयो । तर, त्यस्तो झुट बोलेर गर्नुपर्ने काम कुनै हालतमा नगर्ने भन्ने सोच उहाँमा पैदा भएछ । अरू कुनै उपाय सुझ्दैन, रनभुल्ल पर्नुभयो उहाँ । यस्तैमा पुस्तक पसल खोल्ने विचार आयो उहाँलाई । लप्पन-छप्पन गर्नु पनि नपर्ने, ज्ञान बाँड्ने सफा काम भन्ने उहाँलाई लाग्यो । यो काम सुरु मात्र भएको थियो, एउटा नसोचेको परिस्थिति आइलाग्यो । त्यतिखेरको पूर्व एक नम्बर क्षेत्रअन्तर्गत पर्दथे अहिलेका काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाहरू । धुलिखेललाई छोटा गोश्वारा र चौतारालाई बडा गोश्वारा भनिन्थ्यो । पूर्व एक नम्बरका बडा हाकिम थिए गृष्मबहादुर देवकोटा । उनी धुलिखेल भ्रमणमा पुगेका बेला जिल्लामा एकजना ओभरसियरको सख्त जरुरत परेको तर कोही फेला नपरेको सूचना पाएछन् । यस्तैमा कसैले बेलप्रसादका बारेमा बताइदिएछ । बडाहाकिमले तत्काल बोलाएर ‘ओभरसियर भएर किन जागिर नखाई बसेको -‘ भनी हकारेछन् । बेलप्रसादलाई भने न त जागिर खाने मन थियो न त आँट नै । तर, ‘भोलिबाटै जागिरमा भर्ना हुनू’ भन्ने बडाहाकिम देवकोटाको उर्दी उहाँले र्टार्न सक्नुभएन । यसरी ०१७ सालमा जिल्लाका सीडीओपछिको सुब्बा ओहदाका हाकिमसाब बन्न पुग्नुभयो बेलप्रसाद श्रेष्ठ ।
सरकारी जागिर सुरु भएपछि रातारात उहाँको दिनचर्याले पल्टा खायो । नमस्कार गर्नेहरूको ओइरो, एक्कासि ‘ठूला मान्छे’मा दह्रिन पुग्नुभयो उहाँ । तर, उहाँ स्वयम् भने आफूलाई ठूलो ठान्नुहुन्नथ्यो । एउटा सेवक नै हुँ देशको, आफ्नो गाउँ-जिल्लाको भन्ने भावना थियो मनभित्र । धुलिखेलको त्यतिखेरको अवस्था साह्रै दयनीय थियो । जताततै फोहोर, पानीको अभाव, कुनै घरमा शौचालय नहुनाले महिलालाई सास्ती, मानिसहरूको चालढाल वा व्यवहार पनि दिक्कै लाग्ने किसिमको । यो देख्दा साह्रै उच्चाट लाग्थ्यो बेलप्रसादलाई । काम पनि केही थिएन आफूले पदीय जिम्मेवारीअनुरूप गर्नका निम्ति । तथापि, केही खानेपानी, बाटोघाटो, स्कुल, धाराजस्ता कामहरू उहाँका पालामा भए । उहाँ ओभरसियर हुँदा निर्माण गरिएका धाराहरू अहिलेसम्म पनि धुलिखेलका विभिन्न स्थानमा प्रयोगमै छन् । यसरी ०२५ सालसम्म सरकारी जागिरमा रहनुभयो बेलप्रसाद । आफू अलिक ‘इनोभेटिभ’ किसिमको व्यक्ति भएकाले नयाँ-नयाँ काम-कुराको मात्र खोजी गरिरहने, एउटै काममा अडिग रहनै नसकिने स्वभाव रहेको बताउनुहुने बेलप्रसादलाई कसोकसो अमेरिका जाने