‘पिएगिरी’ गर्नेहरूको राजनीतिमा जगजगी !

‘पिएगिरी’ गर्नेहरूको राजनीतिमा जगजगी !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजनीति पेशा होइन र राजनीतिमा संलग्न व्यक्तिहरू सामाजिक र राष्ट्रिय भावनाले ओतप्रोत हुनु आवश्यक ठानिन्छ । राजनीतिमा संलग्न हुने मानिस बेग्लै कोटीका हुने विश्वास गरिन्छ । भनिन्छ, जंगलमा सबैभन्दा शक्तिशाली र आकारमा ठूलो भएर पनि हात्तिलाई राजाका रूपमा लिइँदैन । तर, आकारले सानो भएपनि सिंहलाई जंगलको राजा मान्ने गरिन्छ । किनभने, सिंहले आफूलाई राजा ठान्दछ । आत्मविश्वास र अन्य जीवजन्तुहरूमा शासन गर्ने उसको गुण र क्षमताका कारण उसलाई राजा भनिएको हो ।

त्यसैले जो मानिस राजनीतिमा हुन्छ त्यसमा केही न केही सिंहको गुण हुन्छ र, जो मानिस राजनीतिकर्मीका पिए (निजी सहायक) को भूमिका निर्वाह गर्छन्, वास्तवमा उनीहरुमा ‘एस मेन’ बन्ने क्षमता भएपनि राजनीतिकर्मीको गुण, स्वभाव, चरित्र हुने गर्दैन । तर, नेपाली राजनीतिमा पिएहरूलाई समेत राजनीतिमा तानेर नयाँ कीर्तिमान राख्न खोजेको पाइएको छ ।

आफ्ना परिवार, नातागोता र नजिकका मित्रहरूबाट आफूले चाहेअनुसार काम गर्न र गराउन नसकेपछि पिएहरूलाई ‘एस मेन’का रूपमा परिचालन गर्न उनीहरूलाई राजनीतिमा तान्ने गरिएको हो । आफूले नै पिए राखेर राजनीतिमा पठाएपछि आफ्ना स्वार्थका सबै काम लिन सकिने भएर नै यो प्रवृत्ति हावी हुँदै गएको विश्वास गरिन्छ ।

कस-कसका को-को पिए राजनीतिमा प्रवेश गरेर सांसद र मन्त्री, प्रधानमन्त्रीसम्म बने त ? घटना र विचारलाई प्राप्त जानकारीअनुसार यस्तो विवरण संकलन भयो । तुलसी गिरी प्रधानमन्त्री बन्दा उनका पिए थिए- पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला । कोइराला देशमा गणतन्त्र आएपछि प्रधानमन्त्री नै बनेका थिए । यस्तै, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पिए थिए शेखर थापा पनि कोशी प्रदेश संसद भइसकेका छन् ।

हालका प्रधानमन्त्री प्रचण्डका पिए थिए सन्तु दराई । उनी संविधानसभा सदस्य बने । चूडामणि खड्का र युवराज दुलाल पनि प्रचण्डका पिए थिए । एक जना सांसद बने भने एक जनाले मन्त्री बन्ने मौका पाए । सांसद बनेका जोखबहादुर महरा पनि कुनै बेला प्रचण्डका पिए थिए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकी पिए थिइन् कल्याणी खड्का, उनी मधेश प्रदेशको सांसद बनिन् । यस्तै, यादव शर्मा पनि नेपालका पिए थिए, उनी बागमती प्रदेशको सांसद बने ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाका पिए थिए कर्णबहादुर मल्ल । उनी सुदूरपश्चिम प्रदेशसभा सदस्य बने । गोविन्द बोहोरा पनि देउवाका पिए थिए । उनी पनि सुदूरपश्चिम प्रदेशसभा संसद बने । पूर्व प्रम बाबुराम भट्टराईका पिए थिए गंगानारायण श्रेष्ठ । उनी बागमती प्रदेशका मन्त्री नै बनेका छन् । अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालका पिए थिए दिपक अमात्य । अमात्य पनि एक पटक प्रदेश सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने ।

माओवादी नेता अग्नि सापकोटाका पिए माधव सापकोटा, प्रतिनिधिसभा सदस्य बनेका छन् । कांग्रेस सभापतिका पत्नी तथा विवादित काङ्ग्रेसनेतृ आरजु राणाका पिए थिए प्रकाश देउवा, उनी पनि सुदूरपश्चिम प्रदेश सांसद बने । यस्तै रामेश्वर राय यादव वन तथा वातावरण मन्त्री रहँदा उनका पिए थिए हालका विवादास्पद मधेशवादी नेता राजेन्द्र महतो । महतो पटक-पटक मन्त्री बने र, उनले पनि उपेन्द्र महतोलाई पिए राखेका थिए । उपेन्द्र हाल मधेश प्रदेश सांसद छन् ।

नेपाली काङ्ग्रेसका नेता रामहरि जोशीका पिए थिए जंगीलाल यादव । उनी पनि सांसद बने । बालकृष्ण खाणका पिए जन्मजय तिमल्सेना प्रदेशसभा सदस्य बनेका छन् । यस्तै, काङ्ग्रेस नेता बलबहादुर राईका पिए थिए रामहरि खतिवडा । उनी पटक-पटक प्रतिनिधिसभा सदस्य रहिआएका छन् । कांग्रेसकै नेता गोपालमान श्रेष्ठका पिए थिए मेखलाल श्रेष्ठ । श्रेष्ठ पनि गण्डकी प्रदेशका मन्त्री बनेका थिए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ आफ्ना पिएलाई राजनीतिक नेतृत्वका निम्ति उत्प्रेरित गरेको अहिलेसम्म पाइएको छैन । यसअर्थमा केपी अलिक भिन्न देखिएका छन् ।