कविताको आधारभूमि

कविताको आधारभूमि


  • दुर्गाकिरण तिवारी

कसैले प्रेममा धोका खायो,
साहित्यकार
कोही औषधिको कुलतमा पऱ्यो,
साहित्यकार
पियक्कडको भिडमा खुट्टा लड्खडाउँदै
र जिब्रो लर्बराउँदै
कसैको गजल गायो, साहित्यकार
विश्वासघात भएर मन विक्षिप्त भयो,
साहित्यकार
अनि त ताँती लाग्ने नै भयो साहित्यकारको
त्यसै कहाँ हुन सकिन्छ र साहित्यकार ?
उत्तरित भएर पनि सधैंझैँ अनुत्तरित छु
बनिरहन्छु ।
कविता
एकोहोरो खुकुरीको चोट खाने
अचानोले लेख्नु पथ्र्यो
आगाको भुङ्ग्रेभट्टीमा पोलिएर
दनादन पिटिने फलामको पाताले लेख्नुपर्थ्यो
दुईमुखे चुल्होको बीच भर्सेलामा खसेर पिल्सिएको
अन्नको दानाले लेख्नुपर्थ्यो
अनि जन्मन्थे मन छुने रचना दिन सक्ने
सच्चा साहित्यकार
समृद्ध बन्थ्यो नेपाली काव्यजगत् ।
हेर्दाहेर्दै खुसीको पूर्णचन्द्रमा
ग्रहण लागेर पनि हुन सक्छ
पीडाले निकास खोजेको बेला
साहित्य सहज अभिव्यक्तिको
कोमल प्रवाह बन्न सक्छ
उस्तै व्यथा बेहोरेका सहृदयी मनलाई
भावुक बनाइदिन सक्छ
हो जीवनकै ऊहापोह हो साहित्य
त्यसैले त विरेचन गरिदिन्छ पीडाहरूको
तर कविता
सत्यताको मूल्यमा अडिएर आओस्
त्यहाँ खोट रहँदैन ।
हिजोआज सञ्जालमा व्याप्त छ साहित्य
सिकारु, सिद्धहस्त, स्थापित, यात्रारत
सबैका सबै भेटिन्छन् एउटै मालामा उनिएका
र त चोरी सहज बनेको छ
कसको कहाँ कसले उछिट्याउँछ
त्यो खोज्नु भनेको
मुसाको सिङ भेट्नु जत्तिकै असम्भव
गुनासो सुनिन्छ
मेरो त कृति चोरेर अर्कोले आफ्नो बनाएर छापिसकेछ
पुरस्कारका लागि मनोनयन हुन हतारो छ
अनेक च्यानल मिलाएर दगुर्ने कसरतमा
पछि पर्नु हुँदैन
नाम कमाउन सजिलो छैन
रातारात साहित्यकार नकहलिए ।
अर्काका लागि लेखिदिने पनि पाइन्छन्
साहित्यका बजारमा अचेल
कोही पैसा गन्दै लेखिदिन्छन्
कोही माया भन्दै लेखिदिन्छन्
रासलीलामा महाराजा महारानी बनेपछि
साहित्यकार सजिलै बनिन्छ
एकपटक पतरिन गाह्रो हो
दोस्रो पटकबाट सब सहज बन्छ तिनका लागि
अनि त बजारमा वाह वाह ! को कोलाहल
सम्मान र पुरस्कारको लहरमा
रोटी गनेर ज्योतिष कहलाउने निदलीका दन्त्यकथाहरू
एकपछ अर्को दोहोरिइरहन्छन्
सच्चा सर्जक साहित्यकार
सूर्यको प्रकाशदेखि दूर
अँध्यारामै पूर्ण अपरिचित
किनकि ऊ
वनमारा झैँ झूटमा मौलाउन सक्दैन ।