विद्यार्थीहरु पुरस्कृत

विद्यार्थीहरु पुरस्कृत


  • तौलिहवा प्रतिनिधि

कपिलवस्तु नगरपालिका क्षेत्रमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफूहरुले कार्य शुरु गरेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवा गाउँस्थित गौतम बुद्ध आधारभूत विद्यालयमा आयोजित अर्धवार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले आफ्नो कार्यकालको ५ वर्षभित्रमा नगर क्षेत्रका सबै सामुदायिक विद्यालयका भौतिक, शैक्षिक तथा अन्य समस्या समाधानका लागि कार्ययोजनासाथ अघि बढेको बताए । चालु आर्थिक वर्षमा नगरको शिक्षा क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन भएको उनले बताए ।

कार्यक्रममा विद्यालयमा कक्षा १ देखि ४ सम्मको विद्यार्थीहरुलाई लिईएको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गरी कक्षा प्रथम, दोस्रो र तेस्रो आएका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अन्य उत्तीर्ण सबै कक्षाका सबै विद्यार्थीहरुलाई कापी र पेन्सिल वितरण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुखहरि प्रसाद ज्ञवालीले सबैसामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै शिक्षा क्षेत्रको विकासका लागि योगदान दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खां, निमित्त वडाअध्यक्ष गंगा राम यादव, पुर्व वडाअध्यक्ष राम भजन कलवार, समाजसेवी सुरेन्द्रराज लम्साललगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयमा व्यक्तिगत सरसफाइतर्फ प्रत्येक कक्षाका छात्र छात्रा गरी १० जनालाई सरसफाइजन्य सामाग्री साबुन, टुथ पेष्ट, टुथ ब्रस वितरण गरिएको विद्यालयकी प्रधानाध्यापक सुजता सुवालले बताइन् ।