नेपाल भ्रमण गर्दै अमेरिकी सहयोग नियोग प्रमुख सामन्था

नेपाल भ्रमण गर्दै अमेरिकी सहयोग नियोग प्रमुख सामन्था


अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणका लागि निस्कन लाग्नुभएको बताइएको छ ।

युएसएआइडीले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रमुख प्रशासक पावरले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्नुहुने जनाइएको छ ।

उहाँले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नुहुनेछ । नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशीता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायतका विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत मे महिनामा युएसएआइडी र नेपाल सरकारले आगामी पाँच वर्षका लागि ६५ करोड ९० लाख डलरको अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सहयोग नेपाललाई अतिकम विकसित देशबाट मध्यमस्तरको विकासशील देशको स्तरोन्नतिका लागिसमेत खर्च गरिनेछ ।

नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत ६ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएआइडीको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ । नेपालको विकासमा युएसएआइडीले खेलेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।

ज्ञातव्य छ, अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ ।