वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त


सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार (३० असार) बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालको विपद् खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने समेत निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । साथै, मन्त्रिपरिषद्ले बीउविजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।