मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक

मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक


  • आरपी उपाध्याय, नवलपरासी

हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा मानिने मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, पश्चिमका प्रजिअ विश्वप्रकाश अर्याल र दुवै जिल्लाका सुरक्षा प्रमुख एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मेला व्यवस्थापन कार्य र समिति चयन विषयमा विवाद चुल्लिएपछि उक्त विवाद साम्य पारी मेलालाइ सभ्य र भव्य ढङ्गबाट सञ्चालन गर्न विनयी त्रिवेणी गाउँपालिका ६ र सुस्ता गाउँपालिका २ को अगुवाइमा विनयी त्रिवेणी र सुस्ता गाउँपालिकामा परापुर्व कालदेखि चल्दै आएको धार्मिक परम्परालाई कायम गर्दै दुवै वडाबाट प्रतिनिधित्व गराइ आवश्यकताअनुसार मुल समिति विस्तार गर्ने तथा विभिन्न उपसमिति गठन गरि मेलालाई मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।

मदार बाबा मेला अवधीभर शान्ति सुरक्षा व्यवस्थापनका लागि दुवै जिल्लाका सुरक्षा समितिको आपसी समन्वय मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रबन्ध मिलाउने निर्णय भएको जानकारीमा आएको छ । भेलाले मेला सम्पन्न भएपश्चात् दुई जिल्लामा दर्ता भएको समितिबीच आपसी समझदारीका साथ पुनःगठन गर्नेतर्फ सम्बन्धित वडा समितिले पहल गर्ने पनि निर्णय भएको छ।

मदार बाबा धार्मिक स्थललाई दीर्घकालीन रुपमा थप व्यवस्थित र आवश्यक प्रबन्ध मिलाइ नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गर्नेतर्फ कृयाशील रहने निर्णय भएको पश्चिम नवलपरासीला प्रजिअ अर्यालले जानकारी दिए । मदार बाबा मेला माघ २७ गतेदेखि प्रारम्भ भइ फागुन ४ गतेसम्म लाग्ने महलबारी मस्जिदका पिठाधिस अमरुल्लाह अन्सारीको भनाइ छ।