पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध


‘विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको राष्ट्र निःशुल्क ज्ञान भण्डारमा पहुँचबाट बञ्चित’

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा उक्त वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ ।

मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजिक सञ्जाल फेसबुक र युट्युबलाई यसअघि पनि अपमानजनक सामग्री प्रकाशित गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो । यस सम्बन्धमा पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)का प्रवक्ता मालाहत ओबैदले ‘धर्म र धार्मिक सन्दर्भमाथिको निन्दात्मक सामग्री हटाउन र समयसीमा पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिएपछि अनलाइन इन्साइक्लोपीडियालाई शुक्रबार देशभर बन्द गरिएको’ बयार जारी गरेका छन् ।

एएफपीले जनाएअनुसार पीटीएले विकिपिडियालाई सामग्री हटाउन ४८ घण्टाको अल्टिमेटम दिएको थियो । ‘उनीहरूले केही सामग्रीहरू हटाए तर सबै होइन, सबै आपत्तिजनक सामग्री नहटाएसम्म यो प्रतिबन्ध कायम रहनेछ,’ ओबैदको भनाइ छ ।

पाकिस्तानको यस कदमपछि विकिपिडियाको व्यवस्थापन गर्ने गैरनाफामूलक कोष, विकिपिडिया फाउन्डेसनले भनेको छ, ‘यो प्रतिबन्धले विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको राष्ट्रलाई सबैभन्दा ठूलो निःशुल्क ज्ञान भण्डारमा पहुँचबाट बञ्चित गरेको छ । यदि यो जारी रह्यो भने यसले सबैलाई पाकिस्तानको ज्ञान, इतिहास र संस्कृतिमा पहुँचबाट बञ्चित गर्नेछ ।’