प्रधानमन्त्री प्रचण्ड र महासचिव चन्दबीच भेटघाट, साझा मोर्चा बनाउने समझदारी

प्रधानमन्त्री प्रचण्ड र महासचिव चन्दबीच भेटघाट, साझा मोर्चा बनाउने समझदारी


photo: rss

प्रधानमन्त्री प्रचण्डसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनीतिक भेटघाट गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटघाट भएको हो ।

सो क्रममा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको भन्दै नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् । तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको बताइएको छ ।

माओवादी धार सबै एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको तिमिल्सिनाको भनाइ छ ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका छन् ।