केपी किन ‘स्वतन्त्र’को पक्षमा ?

केपी किन ‘स्वतन्त्र’को पक्षमा ?


राष्ट्रवादी कम्युनिष्ट नेता केपी शर्मा ओलीले रास्वपा र त्यसका नेतालाई च्यापेको घटनाप्रति सर्वत्र जिज्ञासा उत्पन्न भएको छ । गत संसदीय निर्वाचनमा रास्वपाले समानुपातिकसहित बीस स्थानमा विजय हाशील गरेपछि उक्त समूहलाई वाम गठबन्धनको सरकारमा सामेल गराउन केपीले विशेष तत्परता लिएका थिए । स्वतन्त्रका अध्यक्षलाई गृहमन्त्री बनाउन पनि केपीले नै जोडबल लगाएका थिए ।

सुरुमा प्रचण्ड कुनै हालतमा पनि गृह आफैले राख्ने र स्वतन्त्रलाई नदिने अडानमा थिए, तर केपीको जिद्दीका सामुन्ने प्रचण्डको केही चलेन र अडान छोड्न प्रचण्ड बाध्य भएका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाएर रक्षा, गृह, अर्थ, कानून र परराष्ट्र जस्ता रणनीतिक महत्वका मन्त्रालय आफ्नै काबुमा राख्ने योजना केपीले बनाएको र त्यसमा उनी सफल पनि भएका हुन् । आफैले बनाइदिएका गृहमन्त्री नागरिकता विवादमा परेपछि ओलीले बचाउका लागि निकै प्रयत्न गरेका थिए, सकेनन् । पदमूक्त भइसकेको ब्यक्तिलाई भोलिपल्टै नागरिकता दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि पुनः गृहमन्त्री बनाउन पनि केपीले निकै जोडबल लगाएका थिए । अनेकौँ प्रयत्न गर्दा पनि प्रचण्ड सहमत नभएपछि स्वतन्त्र पार्टी सरकार छोड्न बाध्य भएको छ ।

सरकार छोडे पनि ओलीकै सल्लाहमा स्वतन्त्रले सरकारलाई दिएको विश्वासको मत भने फिर्ता लिएन । स्वतन्त्र पार्टीलाई यति चाँडै केपीले आफ्नो पकेटमा कसरी राख्न सफल भए सो बुझ्न सकिएको छैन । तर रास्वपा र राप्रपा साथमा भएसम्म आफ्नो स्थिति सूरक्षित रहने विश्वासका कारण केपी रास्वपालाई केपीले अति महत्व दिएका हुन् । रास्वपाका निम्ति पनि एमाले र केपी ओली आफ्नो संरक्षक र अभिभावक जस्तै हुन पुगेका छन् । उक्त पार्टीलाई एमालेमा विलय गराउने भित्री योजना बनाएका ओलीले रास्वपालाई साथ लिएर आम असन्तुष्ट युवा पङ्क्तिको विश्वास जित्ने प्रयास गरेका छन् ।