लामिछानेको लाञ्छनाले पैदा गरेको तरङ्ग

लामिछानेको लाञ्छनाले पैदा गरेको तरङ्ग


‘जब कसैले आफ्नो विकल्प छैन, म मात्र सत्य हुँ भन्ने ठान्छ, उ विनासको नजिक हुन्छ’ भन्ने विश्वब्यापी मान्यता छ । रवि लामिछानेको हकमा यो कति सान्दर्भिक होला- मन्थनीय विषय बनेको छ ।

कुनै समय ‘मिडिया’लाई माध्यम बनाएर लोकप्रियता आर्जन गरेका निवर्तमान गृहमन्त्री रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रकै धज्जी उडाउँदै सार्वजनिक रूपमा असन्तुष्टि/आक्रोश प्रकट गरेको सन्दर्भ यतिबेला चर्चामा छ । मिडियासमक्ष आफ्ना कुरा राख्ने बहानामा उपप्रधान एवम् गृहमन्त्रीको ओहदा हासिल गरिसकेका व्यक्ति यसरी प्रस्तुत होलान् भन्ने कल्पना गरिएको थिएन । तर, गृहमन्त्रीको हैसियतले प्राप्त हुने शान-मान एवम् अधिकारको उपयोग/दुरुपयोग गरी निजी दूराभीष्ट सिद्धिको सपना बिथोलिएकै कारण हुनुपर्छ- रास्वपा अध्यक्ष लामिछाने ‘पत्रकार सम्मेलन’मा अत्यन्त अस्वाभाविक र अराजक तवरमा प्रस्तुत भए । रविको रवैयाले मुलुकका सांसद, मन्त्रीहरूको पदीय गरिमालाई गिराएको मात्र नभइ उनी स्वयम्को उदाउँदो राजनीतिक छवि एवम् व्यक्तित्वलाई धूलिधूसर तुल्याएको छ ।

सर्वोच्च अदालतले सांसद पद खारेजीको फैसला सुनाएको दुई दिनपछि नै पुनः नेपाली नागरिकता लिएका लामिछानेले त्यसलगत्तै गैरसांसदको रूपमै पनि पुनः गृहमन्त्रालयको जिम्मेवारी हत्याउन भरमग्दूर कोशिस गरेको जगजाहेर छ । सत्ताघटकको ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग गुहार लगाउनेदेखि प्रधानमन्त्री प्रचण्डलाई घुर्क्याउने/धम्क्याउनेसम्मका हर्कत खुलेआम गर्न चुकेनन् उनी । केपी ओली लामिछानेलाई नै पुनः गृहमन्त्रालयको जिम्मेवारी सुम्पन किन चाहन्थे र प्रचण्डले लामिछानेको हारगुहारको सुनुवाई किन गरेनन्- यो सवालमाथि अलग्गै बहस र तर्क-वितर्क चल्न सक्छ । तर, नेपालको राजनीतिक मैदानका पुराना खेलाडीहरूले आफूलाई के-कसरी प्रयोग/उपयोग/दुरुपयोग गरिरहेका छन् भन्नेतर्फ रत्तिभर ध्यान नदिइ रवि लामिछानेले यसरी पदीय आशक्ति प्रकट गरिदिए, जसबाट थोरै मात्र पनि राजनीतिक चेत र विवेक भएका उनैका समर्थक, प्रशंसक एवम् शुभचिन्तकहरूलाई समेत लज्जित तुल्यायो ।

पद जाँदा रन्थनिएका लामिछानेको पदलोलुपता यसरी झल्कियो कि आफूविरुद्ध समाचार प्रकाशन गर्ने सञ्चारगृहलाई समर्थक उतारेर घेर्ने धम्की दिन चुकेनन् । विशेषगरी नेपाली सञ्चार क्षेत्रमा जबर्जस्त दबदबा कायम गर्दै आएका केही ‘मिडिया टाइकुन’हरूको नामै काडेर उनले तिनका ‘कर्तुत’ यसरी कौलासे, यस्तो प्रतीत हुन्थ्यो कि उनी पत्रकार सम्मेलनमा प्रस्तुत हुँदाकै बखत ‘प्रशंसक/समर्थक’हरू तत्-तत् सञ्चारगृह घेर्न पुगुन् भन्ने ध्येय उनभित्र उग्रभावमा पन्पिरहेको छ ! तर, समय एकनास रहन्न, साथ-समर्थन-सहयोग र विश्वास पनि हरदम कायम रहन सक्दैन । खासगरी प्रतिशोध वा बदलाको भाव साँचेर कोही ‘राजनीति’ गरिरहेछ र अप्रत्यासित रूपमा हासिल गरेको लोकप्रियता तथा राजनीतिक उचाइ भजाएर ‘म नै सर्वोपरि हुँ, सर्वशक्तिमान हुँ र सर्वलायक हुँ’ भन्ने ठानी दम्भ प्रदर्शन गर्छ भने जनविश्वास गुम्न बेर लाग्दैन । यस सन्दर्भमा रास्वपा अध्यक्ष लामिछाने राम्रै भ्रममा रहेको अनुमान गर्न सकिन्छ ।

गैरकानुनी तवरले दोहोरो नागरिकता र राहदानी प्रयोग गर्न नहुने कुरासँग जानिफकार रहँदारहँदै लामिछानेबाट कानुनविपरीत व्यवहार गरिएको रहेछ भन्ने त उनैका पछिल्ला कतिपय अभिव्यक्ति/स्वीकारोक्तिले प्रष्ट्याइसकेका छन् । यसरी नेपालको कानुनसम्मत व्यवहार नगरेवापत सर्वोच्च अदालतको फैसलाबाट सांसद र मन्त्री पद गुमेपछि रन्थनिएका लामिछानेले त्यसको कारक नेपालको ‘मिडिया’ नै हो भन्ने ठान्नु हास्यास्पद छ । हो, उनले लाञ्छित तुल्याएका कतिपय मिडिया हाउस वा सम्बद्ध पेशकर्मीहरू दुधले नुहाएका नहोलान्, तर तिनमाथि औंला उठाउने उपयुक्त अवसर थिएन यो । लामिछानेको अप्रत्यासित आक्रोश एवम् अस्वाभाविक प्रस्तुतिका कारण, उनकै शब्दमा ‘मिडिया क्षेत्रका माफिया’हरूले उल्टै आफूलाई चोख्याउने अवसर पाएका छन् । कुनै अराजक घटना घटेमा त्यसको जिम्मेवारी पनि लामिछानेले नै लिनुपर्ने परिवेश सिर्जना भएको अनुभूति गरिँदै छ ।

पक्कै पनि नयाँ उदाएको राजनीतिक शक्ति र त्यसको नेतृत्वले पुराना दल तथा राजनीतिकर्मीहरूको दाँजोमा औंल्याउन सकिने गरी उच्च नैतिक र चारित्रिक मानकहरू स्थापित गरून् भन्ने आमचाहना थियो । तर विधि-व्यवहारको पालनादेखि व्यक्तिगत तथा राजनीतिक रवैयामा लामिछाने जुन ‘अराजक’ ढङ्गमा प्रस्तुत हुँदैछन्, यसले मुलुकको राजनीतिमा उदाउन लागेको आभास भएको आशाका किरण धुमिल बन्न पुगेको छ । परम्परागत शक्तिहरूको राजनीतिक अभ्यासलाई अझ विकृत र राजनीतिजीवीलाई झन् पदलोलुप बन्न उक्साएको अनुभूति यस प्रकरणपछि गरिएको छ । ‘जब कसैले आफ्नो विकल्प छैन, म मात्र सत्य हुँ भन्ने ठान्छ, उ विनासको नजिक हुन्छ’ भन्ने विश्वब्यापी मान्यता छ । रवि लामिछानेको हकमा यो कति सान्दर्भिक होला- मन्थनीय विषय बनेको छ । आइतबारको प्रेस सम्मेलनमार्फत लामिछानेले कतै आफ्नो अवनतिको दैलो त खोलेनन् ? स्वभाविक जिज्ञासा उत्पन्न भएको छ ।