एमालेको हातमा राष्ट्रपति पद जान नदिनुलाई काङ्ग्रेसले आफ्नो सफलता ठानेको छ भने केपी पनि यतिबेला काङ्ग्रेसको हातमा राष्ट्रपति जान नदिन अनेक प्रपञ्च रच्दैरहेको बुझिन्छ ।
गत पौष १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै आफ्नो राजनीतिक स्थिति र भविष्य सूरक्षित तुल्याउन केपी शर्मा ओलीबाट भएको उत्साहजनक प्रयासमा ब्रेक लागेको छ । सरकारको ‘हनिमून पिरियड’ नसकिँदै केपी रक्षात्मक स्थितिमा पुगेका छन् भने आफैले प्रधानमन्त्री बनाइदिएको प्रचण्ड केपीका निम्ति मुख्य चुनौती बनेका छन् ।
काङ्ग्रेस पार्टीको नेतृत्वले पहिलेको गठबन्धन टुट्नुमा मुख्य भूमिका केपी शर्मा ओलीको रहेको ठानेको छ र, उसले केपीलाई कर्नर गरेर मात्र राजनीतिक स्थिति बदल्न सकिने निष्कर्ष निकालेको छ । केपीले ‘प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री नबनाउनु, माओवादीले साथ छोडे भने हामी बाहिरबाट समर्थन गरिदिनेछौँ’ भनी कपटी कुरा गरेर फसाएका रहेछन् भन्ने काङ्ग्रेस नेतृत्वले धेरै पछि मात्र बुझ्यो । काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिनसक्ने सम्भावनालाई रोक्नका निम्ति मात्र केपीले ‘त्यस्तो’ वचन दिएका रहेछन् भन्ने काङ्ग्रेस नेताहरूको बुझाइ छ । त्यसैले उनिहरू पुनः प्रचण्डसँग समझदारी बनाएर अघि बढ्न हरतरहले कस्सिएका छन् ।
गत पौष २६ गते प्रचण्डलाई काङ्ग्रेसले विश्वासको मत दिएपछि झस्किएका केपी अहिलेसम्म सामान्य बन्न सकेका छैनन् । काङ्ग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा समेत माओवादी उम्मेदवारलाई समर्थन गरिदिएपछि केपीको तनाव थप बढाएको छ ।
राष्ट्रपति र सभामुख पद हात पार्न केपीबाट भएको प्रयास आधी सफल भए पनि पूरै सफलता प्राप्त नहुने स्पष्ट भइसकेको छ । अब एमालेलाई राष्ट्रपति नमिल्ने शतप्रतिशत ग्यारेण्टी भएको छ । यो तथ्य बुझेर केपीले राष्ट्रपति पद काङ्ग्रेसमा जान नदिन अनेक प्रयास गरिरहेको बुझिन्छ । माओवादीले औपचारिक निर्णय गरेर राष्ट्रपतिमा राष्ट्रिय सहमति झल्किने गरी उम्मेदवार तय गर्ने बताएको छ । माओवादीको यस्तो निर्णयलाई केपीले धोखाका रूपमा लिएपनि काङ्ग्रेसले यसलाई अवसर ठानेको छ । एमालेको हातमा राष्ट्रपति पद जान नदिनुलाई काङ्ग्रेसले आफ्नो सफलता ठानेको छ भने केपी पनि यतिबेला काङ्ग्रेसको हातमा राष्ट्रपति जान नदिन अनेक प्रपञ्च रच्दैरहेको बुझिन्छ ।
प्राप्त जानकारी अनुसार सकेसम्म एमालेकै मानिसलाई राष्ट्रपति बनाउने, त्यो नसके बामपन्थी क्षेत्रकै कसैलाई साझा बाम उम्मेदवार बनाउने र त्यो पनि सम्भव नभए माओवादीलाई नै राष्ट्रपति दिएर भएपनि काङ्ग्रेसलाई चाहिँ सत्ताको सम्पूर्ण स्थानबाट बाहिर राखिदिने रणनीतिक योजना केपीले बनाएका छन् । प्रचण्डले चाहेमा राष्ट्रपति समेत माओवादीलाई मिल्ने सम्भावना देखिएको छ, तर संसद्मा जम्मा ३२ स्थान रहेको पार्टीले प्रधानमन्त्री र राष्ट्रपति जस्ता दुवै पद लिँदा त्यसले निकट भविष्यमा पार्नसक्ने असर भने असामान्य हुनसक्छ । यो कुरालाई प्रचण्डले पनि राम्रैसँग बुझेको बताइन्छ, त्यसैले सभामुख केपीलाई दिएर काङ्ग्रेसलाई राष्ट्रपति दिने मानसिकता प्रचण्डले बनाएका हुन् । तर केपी काङ्ग्रेसलाई राष्ट्रपति दिन राजी छैनन्, राष्ट्रपति नपाएपछि काङ्ग्रेस माओवादीसँग भड्किने र त्यसले सत्ता-राजनीतिमा आफूलाई सूरक्षित तुल्याउने विश्वास र विश्लेषण केपीले गरेका छन् । राष्ट्रपति काङ्ग्रेसले पायो भने अन्ततः सरकारमा पनि काङ्ग्रेस सहभागी हुने र एमालेलाई सरकारबाट पन्छाइने खतरा केपीले देखेका छन् । त्यसैले कुनै पनि अवस्थामा काङ्ग्रेसलाई राष्ट्रपति नदिने निष्कर्षमा केपी पुगेको बताइन्छ ।
उता काङ्ग्रेस नेतृत्व भने राष्ट्रपति लिएर सरकारमा सहभागी हुने तयारीका साथ गृहकार्यमा जुटेको छ । प्रचण्डलाई पाँच वर्षको पूरै कार्यकाल प्रधानमन्त्री दिएर भएपनि राष्ट्रपति लिने र सरकारमा सहभागी हुने काङ्ग्रेसको रणनीतिक योजना भएको बुझिन्छ । सरकारमा माओवादी, काङ्ग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी सहभागी हुँदा कुल १४२ सांसद सङ्ख्या पुग्नेछ । त्यसमा लोसपा समेत थपिँदा १४६ जना हुनेछन् र, यस्तो समीकरणले स्थायित्व पाउने विश्वास सम्बद्ध पक्षले गरेका छन् ।
यसप्रकारको समीकरण बनेको स्थितिमा त्यसप्रति अन्तर्राष्ट्रिय ‘एसेप्टेन्सी’ बढ्ने विश्वास पनि माओवादी र काङ्ग्रेसका नेताहरूको छ । काङ्ग्रेस नेताहरू पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की लगायत तथा माओवादी नेताहरू जनार्दन शर्मा र देव गुरुङ लगायतले वर्तमान समीकरण बदलेर नयाँ सत्ता समीकरण बनाउने जोडदार प्रयास गरिरहेका छन् ।
माओवादीका सबैजसो नेताहरू एमालेसँगको गठबन्धन तोडेर काङ्ग्रेससँग समीकरण बनाउने पक्षमा छन् । नयाँ समीकरण बनाउन कुनै ठूलो संवैधानिक र कानूनी अड्चन पार गर्नुपर्ने पनि देखिँदैन । संविधानको धारा ७६(२) अनुसार बनेको वर्तमान प्रधानमन्त्रीले सोही धाराअनुरुप मन्त्रिमण्डल पुनर्गठन गरि एमाले र राप्रपा लगायतलाई हटाउँदै काङ्ग्रेस, एकीकृत समाजवादी र जसपालाई सरकारमा समेटेपछि नयाँ समीकरण बन्नेछ । तर, राष्ट्रपति एमालेले नपाए पनि एमालेले सरकार छोड्ने सम्भावना देखिन्न । त्यसैले, अन्त्यमा एमालेलाई बलजफ्ती सरकारबाट हटाइनसक्ने सम्भावना छ । तर केपीले माधव नेपाल या अमिक शेरचनको नाम भावी राष्ट्रपतिमा प्रस्ताव गरे भने त्यसले प्रचण्डलाई निकै अप्ठ्यारोमा पार्नसक्ने छ । प्रचण्डलाई अप्ठ्यारो पार्नकै लागि केपीले त्यस्तो प्रस्ताव राखेमा कुनै आश्चर्य हुनेछैन ।
प्रतिक्रिया