डडेल्धुरामा सिंचाई योजनाहरू अलपत्र !

डडेल्धुरामा सिंचाई योजनाहरू अलपत्र !


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लामा उत्पादन बढाउन राज्यले कृषि र सिंचाईमा गरेको करोडौंको लगानी बालुवामा पानी जस्तै प्रतिफलविहीन बनेको छ । वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिंचाई सुविधा भन्दै जिल्लाका विभिन्न खेतीयोग्य जमिनको सुधार, रोजगारी र उत्पादन वृद्धिका लागि निर्माण गरेका साना सिंचाई योजनाहरूमा गरेका लगानी बालुवामा पानीजस्तै भएको हो ।

लाखौँ रकमका दर्जनौँ योजना स्थानीय किसानले चासो नराख्दा बजेट कटौति हुनुका साथै उपयोगविहीन अवस्थामा रहेका छन् भने निर्माण भएका सिंचाई पोखरीहरू पनि सञ्चालनमा आएका छैनन् ।

डडेल्धुरा सदरमुकाम आसपासका गाउँमा जंगली जनावरका कारण र कृषिकर्मलाई प्राथमिकतामा नराख्दा गाउँका खेतियोग्य जग्गा बाँझो रहन थालेपछि यहाँका कृषकले खेती गर्न छोडेका मात्र नभइ आर्थिक उपार्जनको वैकल्पिक बाटो अवलम्बन गर्न थालेको अमरगढी-५ सेलागाउँका रामचन्द्र अवस्थीले बताए ।

गाउँमा कृषिकर्म गर्ने उचित वातावरण नहुँदा बसोबास पनि अनुकल व्यवसाय अँगाल्दै सुविधा भएको स्थानमा सरेका कारण गाउँमा रहेका बिजुलीबत्ती, खानेपानी सिंचाईका संरचनाहरू औचित्यहीन प्रमाणित भएको स्थानीय कृषक धर्मराज रोस्यारा बताउँछन् ।

डडेल्धुरा जिल्लामा मात्रै राजनीतिक पहुँच र भनसुनका आधारमा सयौँ योजनाहरू प्रदेश सरकारबाट विनियोजन भएर आउँछन् तर कतिपय योजना उपभोक्ता समिति गठनका लागि मात्र कार्यान्वयन भएको देखिँदा योजनाहरू अलपत्र हुने गरेको स्थानीयको भनाइ छ ।

सम्भाव्यता अध्ययन भन्दा पनि पावरको भरमा योजना आउने त्यसपछि समयमा काम नहुने र क्रमागत बजेट पनि विनियोजन नहुने भएकोले पहिलो पटक सञ्चालन भएका योजनाहरू अधुरा रहने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराका प्राविधिकको भनाइ छ ।

जिल्लामा वार्षिक सयौँ योजना आउँछन् तीमध्ये ६० प्रतिशत मात्र सफल काम हुने गरेको कार्यालयले जनाएको छ । यसबाहेक अरु योजनाहरू पानी नै सञ्चालन नभएकाले जीर्ण र खण्डहर बन्दै गइरहेका छन् । यसतर्फ बजेट उपलब्ध गराउन राज्यका निकायको ध्यान जानुपर्ने स्थानीय किसानहरूको सुझाव छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट सिंचाई सुविधाका लागि बजेट विनियोजन गराउने तर काम नगर्ने प्रवृत्ति डडेल्धुरामा बढ्दै गएकोले राज्यले योजना मागको आवश्यकतालाई सम्भाव्यता पूर्वअध्ययन, विश्लेषण र कार्य सञ्चालन गर्नुपर्ने अपरिहार्य देखिएको छ ।