‘यथासीघ्र विश्वासको मत लिनेछु, त्यसपछि मात्र मन्त्रिपरिषद् बिस्तार हुन्छ’ : नवनियुक्त मुख्यमन्त्री शाह

‘यथासीघ्र विश्वासको मत लिनेछु, त्यसपछि मात्र मन्त्रिपरिषद् बिस्तार हुन्छ’ : नवनियुक्त मुख्यमन्त्री शाह


तस्बिर रासस

‘स्थिर सरकारका लागि सबैसँग छलफल गरिने’

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो ।

पद बहालीको अवसरमा मुख्यमन्त्री शाहले भने, ‘मलाई जिम्मेवारी पनि महशुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकुन् ।’

विश्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् बिस्तार हुने जवाफ दिए ।