केपी रक्षात्मक बन्दै सत्ता समीकरण जोगाउन मुस्किल

केपी रक्षात्मक बन्दै सत्ता समीकरण जोगाउन मुस्किल


प्रचण्ड स्वतन्त्रलाई बोक्ने भन्दा केपीलाई नै छोडेर अघि बढ्ने मानसिकतामा पुगिसकेका छन् । प्रचण्ड र सिङ्गै माओवादी टीम राप्रपालाई बोकेर हिँड्ने पक्षमा पनि देखिएको छैन ।

गत पौष १० गते प्रचण्डलाई काङ्ग्रेसँगको गठबन्धनबाट अलग्याएर बाम-दक्षिणपन्थीको साझा सरकार गठन गराउन सफल केपी शर्मा ओलीलाई वर्तमान सत्ता समीकरण टिकाउन मुस्किल परेको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि सुपर प्रधानमन्त्रीको भूमिकामा देखापरेका ओली अहिले आत्मरक्षाका निम्ति प्रचण्डको सहयोग माग्नुपर्ने स्थितिमा पुगेका छन् । केपीले बुद्धि पुऱ्याउन सकेनन् भने राष्ट्रपति मात्र एमालेले गुमाउने छैन, सरकारबाट समेत हात धुनुपर्ने अवस्था आउनसक्ने सङ्केतहरू देखिएका छन् ।

माओवादीका अधिकाङ्श नेताहरू एमालेसँगको गठबन्धन तोडेर काङ्ग्रेससँग मिल्ने पक्षमा छन् र, उनिहरूले प्रचण्डमाथि सोही अनुरुप दबाब दिइरहेका छन् । माओवादी पक्ष स्वतन्त्र पार्टीलाई सरकारमा पुनः सामेल गर्न इच्छुक छैन, केपी उक्त समूहलाई सरकारमा सम्मानजनक सहभागिताका निम्ति प्रचण्डमाथि दबाब पैदा गर्दैछन् । जबकि प्रचण्ड स्वतन्त्रलाई बोक्ने भन्दा केपीलाई नै छोडेर अघि बढ्ने मानसिकतामा पुगिसकेका छन् । प्रचण्ड र सिङ्गै माओवादी टीम राप्रपालाई बोकेर हिँड्ने पक्षमा पनि देखिएको छैन । उनिहरू राप्रपाले पनि सरकार छोडेर हिँडिदेओस् भन्ने चान्छन् । राप्रपाले सरकार छोड्ने बित्तिकै काङ्ग्रेस, जसपा र समाजवादी पार्टी सरकारमा सहभागी भइ प्रचण्डलाई बोकेर हिँड्न तयारी अवस्थामा छन् ।

हुन त केपी र उनको पार्टीसम्बद्ध ब्यक्तिहरूले प्रचण्डलाई त्रास देखाएर आफ्नो काबुमा राख्ने प्रयास नगरेका होइनन् । ‘काङ्ग्रेस माओवादीलाई एमालेसँग छुटाएर संविधानको धारा ७६(३) अनुरुप आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ, त्यसैले काङ्ग्रेससँग नझुक्किनुहोला’ भनी सचेत गराउने काम ओलीपक्षबाट भइरहेको छ । तर काङ्ग्रेस र माओवादीका नेताहरूबीच निरन्तर छलफल चलिरहेको र, उनिहरू अन्तिम सहमतिको नजिक पुगिसकेको हुनाले एमालेबाट सिर्जित त्रासले प्रचण्डलाई असर गरेको देखिन्न ।

सय दिन नपुग्दै पासा पल्टिएको छ, सरकार बचाउन प्रचण्ड बारम्बार बालकोट धाइरहनुपर्ने अवस्था बदलिएर आफ्नो रक्षाका निम्ति केपी बारम्बार बालुवाटार धाइरहनुपर्ने स्थिति उत्पन्न भएको छ ।

वर्तमान सत्ता गठबन्धन टिकाउन ओलीसँग विकल्प सीमित हुँदै गएको छ । अब माओवादीका अमिक शेरचन या समाजवादीका माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन केपीले प्रस्ताव गरेको अवस्थामा मात्रै प्रचण्ड अप्ठ्यारोमा पर्नसक्ने देखिन्छ । माधव नेपाललाई राष्ट्रपति बनाइदिँदा एकीकृत समाजवादी पार्टी एमालेमा बिलय भइ एमाले संसद्को सबैभन्दा ठूलो पार्टी बन्ने र वर्तमान गठबन्धन पनि जोगिने बुझाइ र विश्लेषण एमालेकै एकथरि नेता र शुभचिन्तकहरूको छ । त्यसैले केपीमाथि माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्न दबाब बढेको छ । त्यस्तै अन्य कुनै विकल्पले काम गरेन भने माओवादीका अमिक शेरचनलाई राष्ट्रपतिमा प्रस्ताव गरेर भएपनि सरकार जोगाउनुपर्छ भन्ने सुझाव ग्रहण गर्न समेत केपीमाथि दबाब पैदा गरिएको छ । तर राष्ट्रपतिसमेत आफैले राख्दा असन्तुलनको स्थिति पैदा भइ सरकारको निरन्तरता सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरि प्रचण्ड ज्यादा सचेत भएको बताइन्छ । त्यसैले माओवादीले राष्ट्रपति पद पाए पनि ग्रहण गर्नेमा शङ्का छ ।

कुनै अप्रत्याशित घटना भएन भने एमालेलाई राष्ट्रपति पद नमिल्ने निश्चित भइसकेको छ । माआवादीले पनि राष्ट्रपति नलिएमा केपीसँग माधवलाई भड्काउनुको अर्को विकल्प छैन । तर माधव पनि केपीप्रति ज्यादै असन्तुष्ट र आक्रामक भएकोले उनलाई भड्काउन सजिलो देखिँदैन । त्यसैले सय दिन नपुग्दै पासा पल्टिएको छ, सरकार बचाउन प्रचण्ड बारम्बार बालकोट धाइरहनुपर्ने अवस्था बदलिएर आफ्नो रक्षाका निम्ति केपी बारम्बार बालुवाटार धाइरहनुपर्ने स्थिति उत्पन्न भएको छ । अब एमालेलाई सरकारबाट नहटाइदिनका निम्ति केपीले प्रचण्डसँग अनुनयविनय गर्नुपर्ने स्थिति उत्पन्न भयो भने कुनै आश्चर्य हुनेछैन । कुनै चमत्कार नभए अब सत्ता समीकरण बदलिने निश्चित छ, राष्ट्रपतिको निर्वाचनअगावै समीकरण बदलिनेछ या निर्वाचन पश्चात् भन्ने यकिन हुन सकेको छैन ।