‘स्वाभिमानी नेपालीहरू निराश’ : पूर्व श्री ५ ज्ञानेन्द्र

‘स्वाभिमानी नेपालीहरू निराश’ : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नेपालको विद्यमान राज्य व्यवस्थाले जनताको सुख-शान्ति र राष्ट्रको समृद्धिमा खास योगदान दिन नसकेको बताउनुभएको छ । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ-लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका र, तिनका धेरै कार्यकर्तामा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको उल्लेख गर्नुभएको छ ।

अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने तर्क पूर्व श्री ५ ले आफ्नो सन्देशमार्फत् गर्नुभएको छ ।

युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था रहेको र अब यो अवस्था आम नैराश्यमा बदलिने जोखिम बढेको उहाँले औंल्याउनुभएको छ । उहाँले भन्नुभएको छ- ‘हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आँकलन गर्न सकिन्छ । विगत वीस वर्षमा दशौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।’

यस्तो छ पूर्व श्री ५ को सन्देशको पूर्ण पाठ-

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौँ । जनचाहनाबमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यर्थाथपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।

वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहदेखि आजको समयावधिसम्म हेर्दा नेपालको राजपरम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको छ । नेपाल एकिकरणको झण्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागतयोग्य भएपनि अहिले कूशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधिको विकास र अन्र्तराष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरू सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तरनिहीत छ । अहिले युवाहरूको हकमा नेपालको इतिहासमै अद्वितीय जनसाङ्खिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आँकलन गर्न सकिन्छ । विगत वीस वर्षमा दशौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।

देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचयसहित रुपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रुपले दबाब दिन सक्ने युवाशक्ति बाहिर हँुदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला, तर कडा मेहनत गरि आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेशका सबै दीनदुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेशमै गरिखाने माहौल नहुने भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेशमै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडि बढ्न खोज्दै छन् ।

राज्यसत्ताको बागडोर ज-जसका हातमा दोहोरिँदै-तेहरिँदै आएपनि वा फेरिँदै-बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री-समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ-लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका र तिनका धेरै कार्यकर्तामा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवम् विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ । दलहरूले नेपालको निम्न एवम् मध्यमवर्गको मुद्धामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भिर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरि कमजोर मानसिकताका साथ स्वार्थकेन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ ।

नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्र्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।

यसवर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔँ । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्मसहितको नेपाली पहिचानको सम्बद्र्धन गर्ने–गराउने ध्येय नै मूलमान्यताको रुपमा स्थापित गरौँ ।

श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् । जय नेपाल !

२०७९ साल फागुन ७ गते