राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुवीकरण हुने माधव नेपालको खुलासा

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुवीकरण हुने माधव नेपालको खुलासा


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुवीकरण हुने खुलासा गरेका छन् ।

पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ ध्रुवीकरणको वातावरण बन्ने बताए ।

अबका केही साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुङ्गो लाग्ने जिकिर गर्दै उनले गठबन्धन भत्किएपछि उत्पन्न हुने नयाँ राजनीतिक परिस्थितिले अग्रगमन पक्षलाई पुनः जोड्ने धारणा राखे ।

मुलुकमा राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि कम्युनिष्ट आन्दोलन जगेर्ना गरी छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा आफ्नो पार्टी रहेको उनको भनाइ थियो । विद्यार्थीको हकहित र अधिकारका साथै सर्वसुलभ तथा गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो सङ्गठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने बताइएको छ ।