सुनुवार समुदायमाथि ‘श्रृङ्खलाबद्ध आक्रमण’ गरिएको आरोप

सुनुवार समुदायमाथि ‘श्रृङ्खलाबद्ध आक्रमण’ गरिएको आरोप


सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले कान्तिपुर पब्लिकेशनले सुनुवार मुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको आरोप लगाएका छन् । उक्त दैनिकले विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाले श्रृङ्खलावद्ध आक्रमण गरेको उनको दाबी छ ।

उपाध्यक्ष सुनुवारले भनेका छन्- ‘देशकै ठूलो भनाउँदो मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण गरिदिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दुस्खद पक्ष हो। हामीले पटक-पटक सजग गराइसकेका छौँ, तर त्यसको कुनै वास्ता गरिएको छैन ।’

सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदायमाथि निरन्तर भ्रमात्मक समाचार प्रकाशन गर्दा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइन् । सुनुवार विद्यार्थी समाजले आफ्नो समुदायप्रतिको गलत समाचार प्रकाशन गर्दा हरेक पटक उक्त दैनिकका सम्पादकलाई सचेत गराउँदै आउँदा पनि हरदम त्रुटीपूर्ण समाचार प्रकाशन गर्नुले सुनुवार जातिलाई उपेक्षा गरेको पुष्टि हुने उनको भनाइ छ ।

ज्ञातव्य छ, ‘सुनुवार’लाई ‘सुनार’ र सुनारलाई सुनुवारको रूपमा चित्रित गरी पटक-पटक समाचार प्रकाशन गर्नु सामान्य त्रुटी नभइ बदनियतपूर्वक गरिएको सुनुवार सेवा समाजको जिकिर छ ।