बन्दीगृहमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण

बन्दीगृहमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीबन्दीहरुलाई सातदिने योगाभ्यास प्रशिक्षण गरिएको छ । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५ जना महिलाहरुलाई योगाभ्यास प्रशिक्षण गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा शारिरीक योग तथा प्राणायाम अभ्यासहरुको शिविर सञ्चालन गरिएको हो । आइतबारदेखि यही फागुन १३ गतेसम्मका लागि शारीरिक योग तथा प्राणायाम अभ्यासहरुको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ ।

सात दिवसीय शिविरको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले उद्घाटन गर्दै विभिन्न कारण र परिबन्धले बन्दीगृहमा रहेका कैदीबन्दीलाई योगले मानसिक चित्तवृत्ति सुधार गर्दै असल नागरिक भएर सजायमुक्त भइ बाहिर निस्किन योगले टेवा पुगाउने बताए ।

यसैगरी पतंजली योग समिति सुदूरपश्चिम प्रदेशका उपसंयोजक गोविन्द खडायत मुख्य प्रशिक्षक रहेको शिविरमा योगका ६० वटा विधा तथा आध्यात्मिक सत्संगका विविध विषयसँगै अभ्यास, प्राणायामहरू सिकाइने प्रशिक्षक खडायतले जानकारी दिए ।
यस्तै, ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको दिनदेखि डडेल्धुराको कीर्तिपुरस्थित पतंजली योग समिति, योग अभ्यास हलमा आगामी दशंैँसम्मका लागि नियमित योग कक्षा संचालन पनि भएको बताइएको छ ।