राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय


photo: rss

अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादीको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित रहेको र आगामी राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले गणतन्त्र र संविधानको रक्षाका साथ शान्ति प्रक्रियालाई टुङ्गोमा पुऱ्याउने माओवादीको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका निम्ति सक्दो पहल गर्ने बताए ।

प्रवक्ता महराले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दिने बैठकले निर्णय गरेकोसमेत जानकारी दिए ।

‘राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने हाम्रो स्वार्थ छ, हाम्रो स्वार्थ कोसँग मिल्छ हेर्दै जानुहोला, त्यो कांग्रेस पनि हुन सक्छ र अरु पनि हुन सक्छ’, महराको भनाइ छ ।