नेपालको राष्ट्रपतिमा विदेशीको सिफारिश !

नेपालको राष्ट्रपतिमा विदेशीको सिफारिश !


भारतमा नेपालविद् भनेर समेत चिनिने, तर नेपालमा विवादास्पद व्यक्तिका रूपमा हेरिने प्रो. एसडी मुनीले नेपालको राष्ट्रपति बनाउन चार जनाको नाम सिफारिस गरेपछि यहाँ तरङ्ग पैदा भएको छ ।

एसडी मुनी नेपाल मामिलालाई लिएर समय-समयमा विवादमा आइ रहन्छन् । खासगरी नेपालका राष्ट्रवादी र देशभक्तहरूप्रति वैरभाव राख्ने मुनीले डा. देवेन्द्रराज पाण्डे, दमननाथ ढुङ्गाना, प्रा. लोकराज बराल र अनुराधा कोइरालामध्ये एकलाई राष्ट्रपति बनाउन ट्वीटमार्फत सुझाएका छन् । गत निर्वाचनलगत्तै मुनीले ट्वीट गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सुझाएका थिए । अहिले आफूनिकट रहेका मानिसको नाम राष्ट्रपतिका निम्ति सुझाएका छन् ।

ज्ञातब्य छ, उल्लिखित चारमध्ये अनुराधाबाहेक तीनले नेपालको राजनीतिक परिवर्तनका निम्ति मित्रशक्तिहरूसँग सहकार्य गर्दै आएका थिए । यिनले बाबुरामको नाम किन सुझाएनन् भन्ने विषय भने यहाँ रहस्यपूर्ण मानिएको छ । भारतमा विद्यार्थी भएर रहँदादेखिकै मित्रद्वयको सम्बन्ध राम्रो रहेको भए पनि नेपाल र नेपालीविरूद्ध रचिएको दसवर्षे हिंसात्मक सङ्घर्षका समयमा मुनीसँग बाबुरामको सम्बन्ध थप प्रगाढ बनेको थियो । अहिले भारतको संस्थापनले मुनीको सल्लाहलाई गम्भीरतापूर्वक नलिने बताइन्छ, तथापि उनले सामाजिक सन्जालमार्फत भएपनि आफ्नो सुझाव प्रस्तुत गर्दै आएका छन् ।

नेपालमा राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा अनेक कुनाबाट अनेकौँ आकारप्रकारका मानिसहरूको नाम चर्चामा ल्याउने गरिएको छ । यसअघि विवादास्पद पूर्व न्यायाधीश कल्याण श्रेष्ठ र खिलराज रेग्मीको नाम पनि भित्रभित्रै चर्चामा ल्याइएको थियो । कतिपयले वकिल शम्भु थापा, डा. सन्दुक रुइत र महावीर पुनको नाम पनि चर्चामा ल्याइदिएका छन् । तर अहिलेसम्म ऋषि धमला, पुण्य गौतम, डा. सुरेन्द्र केसी आदिको नामलाई भने पूरै बेवास्ता गरिएको छ ।