आन्तरिक र बाह्य शक्तिकेन्द्रहरूले आफूअनुकुलको पात्रलाई राष्ट्रपति बनाउने प्रयास गरिरहेका भएपनि प्रमुख दलका नेताहरूले रणनीतिक बाध्यताको उम्मेदवार तय गर्नुपर्ने स्थिति बनेको छ । केपी ओलीले राष्ट्रपति चयन गर्ने मौका पाएका भए उनले ईश्वर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य या त्यस्तै कसैलाई रोज्न सक्थे । प्रचण्डको इच्छाअनुरुप हुन्थ्यो भने शेरबहादुर देउवा नै राष्ट्रपति बन्नुपर्ने हुन्थ्यो । एमालेलाई राष्ट्रपति नमिल्ने भएपछि केपीको जोड काङ्ग्रेसको हातमा राष्ट्रपति जान नदिनेमा केन्द्रीत रहेको छ । काङ्ग्रेसलाई राष्ट्रपति नमिलेमा काङ्ग्रेस भड्किने र वर्तमान सत्ता समीकरण यथावत रहनसक्ने विश्वास र विश्लेषण केपीको छ । त्यसैले उनले माधव नेपाललाई राष्ट्रपति दिएर काङ्ग्रेसलाई पन्छाउने योजना बनाएका हुन् ।
उता काङ्ग्रेसभित्र उपसभापतिद्वय, महामन्त्रीद्वय र अन्य केही नेताहरू देउवालाई राष्ट्रपतिमा थन्क्याएर पार्टीलाई नयाँ तरिकाबाट सञ्चालन गर्ने सोचमा थिए । तर देउवाले रामचन्द्र पौडेललाई नै राष्ट्रपति बनाउने अड्डी लिएकोले जीवनको उत्तरार्द्धमा पौडेलले मौका पाउने स्थिति बनेको हो । अप्रत्याशित कुनै घटनाले परिस्थितिलाई मोडेन भने पौडेल राष्ट्रपति बन्ने निश्चित भएको छ । कृष्णप्रसाद सिटौलाले पौडेलको नाममा सहमति नजनाएको अवस्थामा मानबहादुर विश्वकर्मालाई अवसर प्राप्त हुने सम्भावना छ ।
विगत ६ दशकदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय रामचन्द्र पौडेलले पटकपटक मन्त्री र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेताका हैसियतमा दशकअघि झलनाथ खनाल र प्रचण्डसँग प्रधानमन्त्री पदका निम्ति सत्र पटक लगातार प्रतिष्पर्धा गरेर पनि पौडेल पराजित भएका थिए । यसपटक उनले राष्ट्रपति या काङ्ग्रेस संसदीय दलको नेतामध्ये एउटा आफूले पाउनुपर्ने दाबी गर्दै आएका थिए । अन्ततः उनलाई राष्ट्रपति बन्ने मौका प्राप्त भएको छ । यसपटक राष्ट्रपति बन्ने अवसर गुमाए भने उनको पदीय जिम्मेवारीमा पूर्णविराम लाग्ने ठानिएको छ ।
प्रतिक्रिया